काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले दुईपाग्रे सवारीसाधनमा राखिने मोबाइल ‘होल्डर’ अथवा मोबाइल ‘स्ट्यान्ड’का विरुद्व अभियान थालेको छ ।
कम्पनीबाट मोटरसाइकल बनेर आउँदा बाहेकका सामान जडान गर्नु स्वतः स्वरुप परिवर्तन (मोडिफाई) मानिने भएकाले कारबाही थालेको हो ।
शाखाले मोबाइल स्ट्यान्ड राख्दा चालकले आफ्नो ध्यान बाटोमा भन्दा मोबाइलमा हुने हुँदा दुर्घटना बढेको बताएको छ ।
अहिले राइड शेयर सेवा दिने दुईपाग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिदै आएका छन । प्रहरीले मोबाइल स्ट्यान्डका कारण विकृति बढेको र दुर्घटनापनि बढेको भन्दै कारबाही थालेको छ ।
महाशाखाले पहिले दुई तीन दिन सम्झाउने, त्यसपश्चात् न्यूनतम ५ सयदेखि २ हजारसम्म ठाउँको ठाउँ चिट काट्ने र आवश्यकताका आधारमा यातायातमै पठाउने सम्मको कारबाही हुने जनाएको छ ।
यातायात पठाउँदा यातायातले ऐन अनुसार ५ हजारदेखि २० हजारसम्म जरिवाना लगाउने छ ।