कुर्था-जयनगर रेल सेवा : तीन सय सिट क्षमता रहेकामा सात सय यात्रु खाँदिएर चढ्न बाध्य

काठमाडौं । जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको मागपुरा गर्न सकेको छैन ।

दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन् । झण्डै तीन सय सिट क्षमता रहेकामा खाँदिएरसमेत झण्डै सात सय यात्रु चढिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । दुई रेल भए पनि नियमितरुपमा एउटा मात्रै सञ्चालन गर्न सकिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । उनका अनुसार नियमित मर्मतका लागि र एउटा रेल बिग्रँदा अर्कोले सहायता गर्नुपर्दा एउटा मात्रै नियमित सञ्चालन हुँदै आएको छ । यहाँ बसलगायतका सवारीसाधन नियमित नभएको र भाडादर पनि बढी हुँदा यात्रु रेलप्रति नै आकर्षित रहेका छन् ।

यो खण्डमा रेलको पूर्वाधार विसं २०७८ चैत १९ शुभारम्भ भएर त्यसको भोलिपल्टबाट नियमित सञ्चालन भएको थियो । ट्रयाक निर्माण सकिएको र रेल सेट खरिद गरेर पनि लामो समयसम्म त्यसै रहेकाले पनि तत्काल सञ्चालन गर्नु चुनौती रहेको प्रमुख झाले बताए ।

रेल खरिद पहिले नै संरचनागत सुधार गर्नुपर्ने भए पनि त्यो नगरी हतारिएर खरिद भएको प्रमुख झाले बताए । ट्र्याक बनिसकेको र रेल खरिद भएकाले जनस्तरबाट दबाब रहेको र तत्काल सुरु गर्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘जनशक्ति व्यवस्थापन, रेलको वास सेन्टर, फ्युल स्टेशन, वासिङ सेन्टर बनाउनुपर्नेलगायतका संरचना विकास गर्नुपर्ने थियो । तर संरचना नबन्दै रेल चलाउन थाल्नुपर्ने भयो ।’

आजसम्म पनि रेलका विभिन्न संरचना बन्न बाँकी छ । यसअघिको व्यवस्थापनबाट भारतको कोनकोन रेल्वे कर्पोरेशन लिमिटेडसँग करार सम्झौता भएको भए पनि रकम अभावका कारण खरिद हुन नसकेको प्रमुख झाले बताए । आवश्यक संरचना निर्माणका लागि प्रक्रिया सुरु गर्दा रेल चलाउन झण्डै चार÷पाँच महिना ढिलाइ हुनसक्ने र रेल कहिले चल्छ भनी धेरैको उत्सुकता रहेको थियो ।

अहिले धनुषा जिल्लामा पर्ने कुर्थाबाट ३४ दशमलव नौ किमी ट्याक सञ्चालनमा छ । बर्दिवासको बिजुलपुरासम्म १७ किमीमा ट्याक निर्माण सकिएर सञ्चालन गर्न हुने भएको छ । बिजुलपुराबाट बर्दिवाससम्म १८ किमीमा पनि रेलमार्ग निर्माण हुने र अबको केही वर्षपछि ७० किमी रेल चलाउनुपर्नेछ ।

अहिले एउटा रेलमा उभिएर र बसेर गरी झण्डै ६५० जनासम्म अटाउँछन् । अहिले कम्पनीसँग दुई थान रेल सेट रहेको छ । दुवै रेल सातामा एकएक दिन गरी दुई दिन नियमित मर्मतका लागि पठाइन्छ । आइतबार एउटा र एउटा सोमबार पठाइने गरिन्छ । मर्मतको दिनमा रेल दिनभर ‘सर्भिस सेन्टर’ हुने र चलाउन नसकिने उनले बताए । उनले भने, ‘नियमितरुपमा दुई रेल चलाउन हामीसँग तीन वटा हुनुपर्छ ।’

रेल सञ्चालन गर्दा यात्रुबाहक रेलसँगै मालबाहक रेल आवश्यकपर्ने प्रमुख झाले बताए । अहिले एउटा रेल दुई पटक आउने र जाने गरेकामा टिकटबाट झण्डै सात करोड आम्दानी हुन्छ । तीन पटक चलाउँदा बढीमा १० करोडसम्म आम्दानी हुनसक्ने र मालबाहक चल्दा थप रकम आम्दानी हुनसक्ने उनले बताए ।

अहिले रेल सञ्चालनका प्राविधिक कामका लागि भारतीय जनशक्ति करारमा काममा लगाइएको छ । आगामी दिनमा नेपाली जनशक्तिलाई तालिम दिएर दक्ष बनाउँदा महँगो तिरेर अरु देशबाट ल्याउनु ल्याउनु नपर्ने उनले बताए ।

त्यस्तै आफ्नै फ्युलिङ सेन्टर बनाउँदा थप २८ प्रतिशत कर तिर्नु पर्दैन भने वर्कसप बनाउँदा वार्षिक १० करोड जोगिन्छ । वासिङ सेन्टर झण्डै एक करोड जोगिन्छ । सरकारले त्यसका लागि आवश्यक संरचना निर्माण गर्न सहयोग गर्नुपर्ने उनले बताए । उनले भने, ‘त्यसका लागि हामीले रेल विभागमार्फत मन्त्रालयमा लिखित माग गरिएको छ ।’

विसं २०७७ को फागुन ४ गते मन्त्रिपरिषद्ले भारतीय कम्पनीसँग सम्झौताअनुसार संरचनाका लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा दिने निर्णय गरेको थियो । कम्पनीले अझैसम्म रकम नपाएको र अर्थ मन्त्रालय धाइरहेको उनले बताए । अघिल्लो व्यवस्थापनले गरेको सम्झौताका लागि सरकारले रकम छुटयाएको थियो ।

कुनै पनि संस्थालाई जुनसुकै काम गर्न सरकारले बीउ पुँजी दिने र संस्थालाई आफ्नो खुट्टामा हिँड्ने बनाउने प्रमुख झाले बताए । यात्रुको चाप धेरै भए पनि कम्पनीसँग किन्ने पैसा नभएको उनले बताए । दुई थान हुँदा एक थान मात्रै नियमितरुपमा चलाउन सकिएको हुँदा थप एक हुँदा नियमित दुई चलाउन सकिनेछ । थप एक थान यात्रुबाहक र एक थान मालबाहक रेल चाहिने कम्पनीले माग गर्दै आएको छ ।

रकम निकासको माग गर्दै अर्थ मन्त्रालयमा फेरि पनि फाइल पठाइएको कम्पनीले जनाएको छ । पैसा आएपछि वर्कसप बनाउन नसकिए पनि फ्युलिङ सेन्टर र वासिङ सेन्टर बनाइने उनले बताए । ती संरचना बनेपछि पाँच÷सात करोड जोगिन्छ । नेपाली जनशक्ति नियुक्त गर्नका लागि संगठन र व्यवस्थापन (ओएण्डएम) गर्न टिम बनाएको र त्यसको फाइल मन्त्रालयमा रहेको छ । मन्त्रालयबाट स्वीकृत भएपछि काम गरेर १५÷२० दिनमै लोकसेवालाई दिइनेछ ।

विसं २०७० सम्म जयनगर–जनकपुर न्यारो गेजमा रेल सञ्चालन भएको थियो । न्यारो गेजलाई ब्रोड गेजमा स्तरोन्नति गर्न भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–वर्दिबास ७० किमी खण्डमा निर्माण सुरु भएको थियो । सो मध्ये आधा सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स