प्रतिनिधि सभा निर्वाचनमा बारा १ बाट उम्मेदवारी दिने तयारीमा डा. न्यौपाने (घोषणा पत्र सहित)

काठमाडौं । आसान्न प्रतिनिधि सभाको निर्वाचनमा बारा १ बाट डा. राकेश न्यौपानेले उम्मेदवारी दिने भएका छन् । डा. न्यौपानेले अगामी प्रतिनिधि सभाको निर्वाचनमा बारा १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। मुलुकलाई आर्थिक र अध्यात्मिक समृद्धिको बाटो पहिल्याउन सहजकारी भूमिका निर्वाह गर्न प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी शुरु गरिएको डा. न्यौपानले बताए ।

‘नेपालमा शासकिय व्यवस्था विरुद्धको राजनीति समाप्त भइसकेको छ । अब नेपालीको चाहना भनेको आर्थिक समृद्धि र दीगो उन्नती हो । पूराना राजनीतिज्ञहरुले आफ्नो जीवनको उर्वर समय शासकिय व्यवस्था परिवर्तन गर्न खर्चिनु भएको छ,’ डा. न्यौपानेले भने, ‘उहाँहरुको लडाई शासकिय व्यवस्थासँग थियो। त्यसमा उहाँहरु सफल हुनु भएको छ। अब मुलुकलाई आर्थिक समृद्धि र दीगो विकासको खाँचो छ।’ मुलुकलाई समृद्ध बनाउन राजनीतिमा युवाहरु पनि सक्रिय सहभागिता आवश्यक पर्ने भएकाले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने योजना बनाएको डा. न्यौपाने बताउँछन्।

नेश्नल मेडिकल कलेज विरगंजबाट एमबीबीएस उर्तिण गरेका डा. न्यौपाने विभिन्न स्वास्थ्य निकायमा आवद्ध रहनुका साथै राजनीतिक रुपमा पनि सक्रिय रहँदै आएका छन्। साथै उनी हाल त्रिभुवन विश्वविद्यालयमा राजनीतिक शास्त्रमा स्नातोकत्तर अध्ययन गर्दैछन्।

उनले कोरिया नेपाल हस्पिटल, अल्का हस्पिटललगायतमा काम गरिसकेका छन्। साथै उनी २०७४ सालदेखि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य सल्लाहकारको रुपमा काम गर्दै आइरहेका छन्। सन् २०१९ सार्क एन्टिडोपिक कन्फरेन्समा उनी नेपालको प्रतिनिधित्व गरेका थिए।
उनी सामाजिक कार्यमा पनि निकै सक्रिय छन्। २०७२ सालको महाभुकम्प र कोभिड–१९ को समयमा विभिन्न स्थानमा राहत वितरण कार्यमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य शिविरहरु पनि सञ्चालन गरेका थिए।

यस्तो छ न्यौपानेको घोषणा पत्र

नेपाललाई वैदिक सनातन धर्म निर्देशित वैज्ञानिक तथा अध्यात्मिक समाजवादी राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ विगत ६ वर्ष देखि विभिन्न अभियान मार्फत संघर्ष गर्दै आएको एक युवा हुनुका नाताले त्यसलाई कार्यान्वयन गर्ने लक्ष्य राखेर आगामी प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ का नागरिकको निर्वाचित सेवक बन्ने उद्देश्यका साथ यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।

जसरी बेदान्त प्रकृति सूत्रले हरेक जीव, इश्वरको अंश हो भन्छ त्यसैगरी लोकतन्त्रमा राज्यसत्ता निर्माणमा प्रत्येक नागरिकको मतको निर्णायक अंश रहन्छ । धर्म निर्देशित, पक्षपातविहिन, शोषणमुक्त, सु–सम्पन्न सेवापरायण, स्वास्थ्य तथा सर्वहित प्रद व्यक्ति तथा समाजको संरचना निर्माण गर्नको लागि आफ्नो सार्वभौम मत मार्फत प्रतिनिधि चुन्ने अधिकारको पक्षपोषण नै सनातन राजनीतिको मूल उद्देश्य हो । राजनीतिको त्यही पावन उद्देश्य प्राप्तिलाई केन्द्रमा राखेर मैले यो बाटो राजेको छु । शताब्दीऔं देखि स्वाधिन, सर्वाभौम, सनातनी व्यवस्था रही आएको राष्ट्र नेपालमा विगत केही दशक यता विदेशी प्रभुत्ववादले निम्त्याएको विकृत राजनीति हावी भएको छ । यसलाई परिवर्तन गर्न कम चुनौतीपूर्ण छैन ।

यो यात्रामा याहाँहरुको सम्पूर्णको आशिर्वाद, साथ र सहयोगको आवश्यक रहेको अपील गर्दै क्षेत्र नम्बर १ को उम्मेदवारका रुपमा निम्न लिखित एजेण्डामा प्रतिबद्ध रहेको व्यहोरा प्रस्तुत गर्न चाहन्छु ।

१) शासनव्यवस्थाः वैद्धिक सनातन धर्म, निर्देशित समाजवादी शासन व्यवस्था, जनताद्वारा निर्वाचित प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वचित प्रधानमन्त्री । स्थानीय तहको सवलीकरणसँगै प्रदेश संरचनाको खारेजी गर्ने ।
२) अर्थतन्त्रः उन्नत समाजवाद: राज्यले समस्त नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारी, आधारभूत खाद्यान्न, आधारभूत आवाजको पूर्ण जिम्मेवारी लिने । वैदेशिक पूँजी तथा प्रविधिको आकर्षण तथा लागनीको लागि प्रोत्साहन गरिने ।
३) सुशासनः सबै प्रकारकाको भ्रष्टाचार प्रकरणमा छानविन कारवाही तथा नियन्त्रण गरी सुशासन कायम गर्ने ।
४) परराष्ट्र नीतिः पञ्चशील र असंलग्न परराष्ट्र नीतिलाई पूर्णत कार्यान्वन गर्ने साथै ःऋऋ जस्ता सम्झौताको खारेजी गर्ने । नजिक तथा टाढाका छिमेकीहरुसँग समदुरी सहितको सम्मानपूर्ण सौहार्द सम्वन्ध कायम गर्ने ।
५) धर्म/संस्कृतिः बारा क्षेत्र नं. १ मा रहेका सम्पूर्ण धार्मिक तिर्थस्थल, धाम र गुठीहरुको व्यवस्थापन र संरक्षण गर्ने । संस्कृत भाषाको विस्तार र वैद्धिक ग्रन्थहरुको अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरी आर्य एवं वौद्धिक संस्कृति अवलम्बन गर्न प्रेरित गर्ने ।
६) उर्जाः अल्पकालिन रुपमा अन्तरदेशीय पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिने, साथै आगामी ११ वर्ष भित्र राष्ट्रमा प्रयोग हुने उर्जा सबै हरित उर्जा (क्लिन एण्ड ग्रीन उर्जा हुने)
७) जनजिविका विकासः ५ वर्ष भित्रमा बारा क्षेत्र १ मा पर्ने ३ वटा नगरपालिका (निजगढ, कोल्बी र सिम्रौनगढ) क्षेत्रमा वर्षेबाढी पूर्णत नियन्त्रण गर्ने, निजगढ नगरपालिकालाई स्मार्ट सिटीको मापदण्ड अनुसार विकास गर्ने, क्षेत्र नं. १ मा पर्ने सबै स्थानमा सडक निर्माण गर्ने, सहरीकरण गर्ने, स्वच्छ पिउने पानीको व्यवस्था गर्ने र पर्यटनमुखी क्षेत्र निर्माण गर्ने । युवालाई सीपमूलक तालिमहरु दिने र युवालाई रोजगार प्रदान गर्ने।
८) वातारण/पर्यावरण/कृषिकरणः ५ वर्ष भित्रमा खाली जमिनहरुमा कृषि सुरु गरिने, आधुनिक कृषिकरण गरिने, कृषकहरुलाई प्रोत्साहन गर्ने, सिंचाई नपुगेको ठाउँहरुमा सिंचाईको व्यवस्था गरिने, स्मार्ट कषिको मोडलमा काम गर्ने, डेरी उत्पादनहरु बद्धि गर्ने र त्यसलाई उचित मूल्यमा बजारमा निर्यात गर्ने, बृक्षारोपण गर्ने, एक घर एक बृक्षको मोडल विकास गर्ने, कृषि विश्वविद्यालय निर्माण गर्ने ।
९) स्वास्थ्य/शिक्षाः नेपाली सबै जनतामा स्वास्थ्य÷शिक्षाको पहुँच स्थापित गर्ने । स्वास्थ्य÷शिक्षा सेवा प्रदान गरिरहेका संस्थाहरुलाई स्तरोन्नती गर्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स