नेपाल इन्भेष्टमेन्ट बैंकको पाँच करोड सहयोगमा पशुपतिनाथको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ

काठमाडौं । पशुपति क्षेत्रका महत्वपूर्ण चीजबीजको सङ्ग्रह गरी पशुपतिनाथ मन्दिरअघिको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ गरिएको छ ।

सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्दे नेपालको इतिहास, संस्कृति र सम्पदालाई विश्वमा चिनाउन यसले सहयोग गर्ने बताए । नेपालमा पर्यटन प्रवद्र्धनका लागि संस्कृति र सम्पदाको संरक्षण गरिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।

‘मूर्त, अमूर्त सम्पदा संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको छ, सम्पदाका माध्यमबाट पर्यटनको विकासलाई सहयोग गर्छ, यसले अर्थतन्त्रलाई टेवा दिन्छ, पशुपतिनाथ मन्दिर आउने धर्मावलम्बी र पर्यटकका लागि सङ्ग्रहालय आकर्षक केन्द्र बन्नेछ’, उनले भने ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले नेपाल इन्भेष्टमेन्ट बैंकको पाँच करोड सहयोगमा सङ्ग्रहालय निर्माण भएको जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त महास्नान घरलाई बैंकले प्रबलीकरण गरी सङ्ग्रहालय निर्माण गरेको हो ।

‘भूकम्पले भत्किएका पशुपति क्षेत्रका ९६ मध्ये ६३ वटाको पुनःनिर्माण सम्पन्न भएको छ, पशुपति क्षेत्रमा आठ सय १८ सम्पदा छन्, यसको संरक्षणका लागि कोषले काम गरिरहेको छ’, उनले भने ।

सङ्ग्रहालयमा दुई सय ६५ सामग्री राखिएको जानकारी पनि सदस्य सचिव थापाले दिए । विसं २०८० मा भ्रमण वर्षका रुपमा पशुपति दर्शन कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी पनि उनले दिए । मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले सङ्ग्रहालय निरन्तर सञ्चालनका लागि सरोकार भएका निकायका बीच सहकार्य हुनुपर्नेमा जोड दिए । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले सङ्ग्रहालय निर्माणसँगै विगत पाँच वर्ष अघिदेखि पशुपति क्षेत्रको सरसफाइमा पनि बैंकले सहयोग गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सङ्ग्रहालयको निर्माणमा लागेका वास्तुविद् पद्मसुन्दर महर्जन, कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायतले पशुपति क्षेत्रको महत्व बढाउन सङ्ग्रहालय सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स