काठमाडौं । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति उनको निधन भएको हो । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य गिरी घाँटीको क्यान्सरबाट पीडित थिए ।
करिब पाँच वर्षदेखि गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । पटक–पटक उपचारका लागि भारत जाने र आउने क्रम चलिरहेको थियो । यस पटक पनि लामो उपचारपछि नेपाल फर्किएका उनी साउन पहिलो साता मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
शुक्रबारदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ पंकज बर्मनले शनिबार राति ९ः३० बजे उनको निधन भएको जानकारी दिए । गिरीको पार्थिव शरीरलाई आइतबार बिहान ९ देखि ११ बजेसम्म अस्पताल परिसरकै शिवालय मन्दिरमा राखिने, त्यसपछि पार्टी कार्यालय लगिने कांग्रेस नेता दीपकुमार उपाध्यायले जानकारी दिए । दिउँसो ४ बजेपछि उनको अन्त्येष्टि गरिनेछ ।
सिरहाको बस्तीपुरमा २००२ सालमा जन्मिएका गिरी सानैदेखि कुशाग्र बुद्धिका थिए । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । बौद्धिक नेताको छवि बनाएका उनलाई अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूले पनि उत्तिकै सम्मान गर्छन् ।