चिकित्सकविहीन मुगुअस्पतालले पायो विशेषज्ञ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगु अस्पतालमा विशेषज्ञ डाक्टर पठाएको छ ।

विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा जीतेन्द्र कँडेलले छोडेपछि प्रतिष्ठानले पठाएका विशेषज्ञ डा सिद्धार्थ खातीले दुई वर्ष सेवा दिए । उनले पनि छोडेपछि मुगु अस्प्ताल विशेषज्ञ चिकित्सकविहीन हुन पुगेको थियो । विशेषज्ञ चिकित्सक नहुदाँ मुगुका बिरामीको उपचार हुन सकेको थिएन ।

डा रावलले भने, “अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकप्टरबाट बाहिर पठाउनु प¥यो । यही समस्या समाधानका लागि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी, स्वास्थ्य सचिव डा रोशन पोख्रेल, प्रजिअ रोमबहादुर महतलगायतको पहलमा बुधबार डा सुरेन्द्र शाक्यलाई पठाएर सेवा दिन थालिएको छ ।” डा शाक्यको उपस्थितिले आकस्मिक र जटिल खालका रोगको उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने सङ्कट हट्ने उनले बताए । उपकुलपति डा रावलका अनुसार प्रतिष्ठानका बायोमेडिकल इञ्जिनियर अर्जुन सिंह नेतृत्वको टोलीले बुधबार नै जिल्ला अस्पतालका सम्पूर्ण उपकरणको मर्मतसम्भार कार्य थालिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स