काठमाडौं । काठमाडौं उपत्यकाका ठूला अस्पतालबाट निस्कने फोहरजन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन् । ती अस्पतालले पनि काठमाडौं महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्दै आइरहेका छन् ।
अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अंगको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन् । अस्पतालबाट निस्केको फोहरले अन्य सङ्क्रमण फैलिन नपाओस् भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले फोहरजन्य व्यवस्थापन गर्दै आएको छ । अस्पतालका निर्देशक डा. मनिषा रावलले २०७२ सालबाट डेडिकेडेड होस्ट म्यानेजमेन्ट सेन्टर स्थापना गरेर अस्पतालको फोहर व्यवस्थापन गर्दै आइरहेको बताइन् ।
उनका अनुसार अस्पतालको फोहर व्यवस्थापनका लागि सघन उपचार कक्ष सघन उपचार केन्द्र(आइसियु) इन्चार्ज उषा देवकोटाको नेतृत्वमा फोहरको व्यवस्थापनको जिम्मा तोकिएको छ । अस्पतालले फोहर संकलन गर्ने क्रममा नै वर्गीकरण गरी संकलन गर्ने गरेको छ । संकलन गरेको फोहरलाई अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रबाट निर्मलीकरण गर्ने र पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहरलाई छुट्याइ व्यवस्थापन गरिरहेको अस्पतालका निर्देशक डा. रावलले जानकारी दिए ।
‘हामी सरुवा रोग अस्पताल भएकोले फोहरलाई विशेष प्राथमिकतामा राखेर व्यवस्थापन गर्नुपर्दछ’, उनले भने, ‘मानव अंग र जल्ने खालका फोहरलाई निश्चित् तापक्रममा राखेर जलाउने गर्दछौं र अरु फोहरलाई निर्मलीकरण गर्दछौं ।’अस्पतालले प्लास्टिक र सिरिञ्जलाई भने बिक्री गर्दछ । कोरोना महामारीको बेला अस्पताललाई फोहर व्यवस्थापन गर्न चुनौती नै थपिएको उनले बताए ।
‘पिपिइ, ग्लोब्स र मास्क कता फाल्ने समस्या प¥यो । अर्को कुुरा अस्पतालबाट निस्केको फोहर सङ्क्रमण फैलाउने भन्ने पनि डर भयो,’ उनले भने, ‘सरसफाइ गर्नेलाई फोहर व्यवस्थापनको तालिम लिएर कसरी समुदायमा सङ्क्रमण फैलिन सक्दैन भनेर दियौं । सोही अनुसार फोहर व्यवस्थापन गरे ।’
इन्चार्ज देवकोटाले हानिकारक फोहरलाई अटोक्लेप मेसिनबाट खतरामुक्त बनाइ बेच्ने गरेको बताए ।
अस्पतालमा तीन वटा अटोक्लेप मेसिन रहेका छन् । ‘सुरुमा हानिकारक फोहरलाई अटोक्लेप मेसिनमा राखेर खतरामुक्त बनाउँछौं’, उनले भने, ‘फोहर सामान खतरामुक्त भएपछि छुट्यााएर पुनः प्रयोग गर्न मिल्ने बेच्ने गर्दछौं ।’ टेकु अस्पतलामा कोभिड–१९ को महामारीको भने फोहर व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता रहेको थियो । पिपिइ, पञ्जा र मास्क जस्ता फोहर व्यवस्थापनका लागि मापदण्ड नहुँदा समस्या परेको उनले बताए ।
सामानलाई त्यतिकै राखेर पछि कोभिड– १९ को फोहर व्यवस्थापन गर्नका लागि मापदण्ड बनेपछि सजिलो भएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पनि अस्पतालको फोहर व्यवस्थापन आफै गरेको छ । अस्पतालले फोहर व्यवस्थापन मापदण्डअनुसार अस्पतालमा रहेका फोहर व्यवस्थापन गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।
अस्पतालले मानिसको काम नलाग्ने अंगलाई जलाउने गर्दछ भने अन्यलाई कुहिने र नकुहिने गरी छुट्टाई व्यवस्थापन गर्ने गरिएको उनको भनाइ रहेको छ । उनले अस्पतालको शय्यादेखि नै कुहिने र नकुहिने फोहर जम्मा गरी व्यवस्थापन गरिँदै आएको बताए ।
उनका अनुसार अस्पतालमा जम्मा भएको फोहरलाई छुट्टै टहरामा राखी निसङ्क्रमणा गरी व्यवस्थापन गरिएको छ । अस्पतालले प्लास्टिक बोतल, सिरिञ्ज जस्ता फोहरलाई ठेकेदारमार्फत व्यवस्थापन गर्दै आइरहेको छ । अस्पतालमा भएका फोहर व्यवस्थापनका लागि १५ जना र अस्पतालभित्र सरसफाइ गर्नका लागि ५० जनाभन्दा बढी कर्मचारी राखिएको छ ।
निजामती कर्मचारी अस्पतालले पनि महानगरको समन्वयमा फोहर व्यवस्थापन गर्दै आएको छ । अस्पतालका उपसचिव कृष्ण सापकोटाले शय्यादेखि नै कुहिने र नकुहिने छुट्याएर फोहरको व्यवस्थापन गर्ने गरेको बताए । उनले काठमाडौं महानगरको फोहरको वर्गिकरण अनुसार फोहर व्यवस्थापन गरेको बताए ।
यसका साथै अस्पतालले मानवअंग र जोखिमजन्य सर्जिकल समानलाई मेसिनमा हालेर प्रदूषित नहुने गरी धुलो बनाएर निष्क्रिय गर्ने गरेको उनले बताए । ‘जोखिमजन्य फोहरलाई हामीले मेसिनबाट धुलो बनाउँछौं’, उनले भने, ंधुलो भएपछि महानगरसँग समन्वय गरेर त्यो फोहर धुलोलाई व्यवस्थापन गर्दछौं ।’ अस्पतालको फोहर दैनिक लिन महानगरको कन्टेनर अस्पताल आउने गर्दछ ।