ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने

काठमाडौं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो ।

उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक वडादशैं ताका वर्षको एकपटक १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई पाँच हजार दिने गरेकामा यस वर्ष पाँच हजार थप गरी १० हजार दिने भएको महर्जनले जानकारी गराए । लपु महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेका बताइएको छ ।

यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी पर्दा उनीहरूको सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महर्जनले सुनाए ।

महानगरमा ९० प्रतिशत घरमा नम्बरप्लेट जडानको काम सम्पन्न भइसकेको महर्जनको भनाइ छ । ‘महानगरपालिकामा कुल ८१ हजार घर सङ्ख्या छन् । यसमा मात्र १० प्रतिशत घरमा प्लेट जडान गर्न बाँकी छ । प्लेट जडान सम्पन्न भएसँगै हामीले जिपीएस प्रणालीमार्फत हरेक व्यक्तिको घर पत्ता लगाउन सजिलो हुने वातावरण तयार गर्नेछौं’, उनले थपे, ‘यसका साथै हामीले महानगरका टोल–टोलमा प्रचलित र रैथाने नामको नामकरण गरी प्रत्येक नागरिकलाई वारपार गर्न सहज अवस्था सिर्जना गरिदिएका छौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स