वाणिज्य बैंकको वितरणयोग्य नाफा पौन ५७ अर्बभन्दा बढी, लगानीकर्तालाई प्रतिफल दिनेमा एभरेष्ट अगाडि

काठमाडौं । वाणिज्य बैंकहरूको गत आर्थिक वर्षमा औसतमा १५.८९ प्रतिशत लाभांश बाड्न सक्ने देखिएको छ । गत आवमा २६ वाणिज्य बैंकहरूले कुल ७४ अर्ब ४७ करोड ५४ लाख खुद नाफा आर्जन गर्दा कुल ५६ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेका छन् ।

बैंकहरूले आर्जन गरेको वितरण योग्य मुनाफाबाट वाणिज्य बैंकहरूको औषतमा १५.८९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको हो । सो आधारमा साउन १५ गतेअघि वित्तीय विवराण प्रकाशित गरेका बैंकहरूले आम्दानीलाई लेखांकन गर्दा सम्भावित लाभांश थप हुन सक्ने देखिएको छ ।

बैंकहरुले अघिल्लो आवमा कमाएको नाफा र जगेडा कोषमा राखेको पैसाबाट समेत लगानीकर्तालाई लाभांश दिनसक्ने व्यवस्थाले बैंकहरुले घोषणा गर्ने लाभांश सम्भावित लाभांश भन्दा केही फरक पर्न सक्छ ।

गत आवमा आर्जित नाफाबाट वाणिज्य बैंकहरुले लगानीकर्तालाई ४१.१५ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता देखिएको छ । दुई वटा बैंकको लाभांश क्षमता १० प्रतिशतभन्दा कम देखिएको छ अर्थात २.५३ प्रतिशतमात्रै लाभांश बाड्न सक्ने देखिएको छ ।

२६ वाणिज्य बैंकमध्य ५ वटा वाणिज्य बैंकले २० प्रतिशतमाथि, २ वटा बैंकले १५ प्रतिशतमाथि, १८ वटा बैंकले १० देखि १५ प्रतिशतसम्म र २ वटा बैंकले १० प्रतिशतभन्दा कम लाभांश दिन सक्ने क्षमता राख्ने देखिएको छ ।

गत आवको मुनाफाबाट लगानीकर्तालाई सबैभन्दा बढी एभरेष्ट बैंकले र सबैभन्दा थोरै सनराइज बैंकले लाभांश वितरणको क्षमता राखेको देखिएको छ । लाभांश क्षमता बढी राख्ने दोस्रो नम्बरमा नबिल बैंक र तेस्रोमा कृषि विकास बैंक परेका छन् । नबिल बैंक गत वर्ष सर्वाधिक लाभांश बाड्ने १ नम्बरको बैंकको सूचीमा सूचीकृत भएको थियो ।

कुन बैंकको लाभांश बाड्न सक्ने क्षमता कति ?

एभरेष्ट बैंकः हाल ९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवको असार मसान्तसम्म ३ अर्ब ८९ करोड वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले सेयरधनीलाई ४१.१५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

नबिल बैंकः हाल २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवको असार मसान्तसम्म ९ अर्ब १२ करोड वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले सेयरधनीलाई ३९.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

बैंकले गत असारमा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी बिजनेश कम्बाइन वापत प्राप्त ५ अर्ब ७४ करोड रुपैयाँ रिजर्भको पैसा वितरण योग्य नाफामा गणना गरेपछि लगानीकर्तालाई बढी लाभांश क्षमता राख्ने दोस्रो बैंक बनेको हो ।

कृषि विकास बैंकः सो अवधिमा बैंकको ३ अर्ब ९० करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई २९.६३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

हिमालयन बैंकः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब ६६ करोड रुपैयाँ छ । हाल चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई २०.५२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

राष्ट्रिय वाणिज्य बैंकः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ३ करोड रुपैयाँ छ । हाल चुक्ता पुँजी १४ अर्ब ९४ करोड रुपैयाँ कायम रहेको बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई २०.३० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

एनआईसी एशिया बैंकः सो अवधिमा ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवमा २ अर्ब २४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १९.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

स्ट्याण्डर्ड चार्डर्ट बैंकः सो अवधिमा ८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा १ अर्ब ५९ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले १८.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सिद्धार्थ बैंकः सो अवधिमा १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा १ अर्ब २१ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले १६.८२ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

नेपाल एसबिआई बैंकः हाल चुक्ता पुँजी ९ अर्ब ४९ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा आर्जित १ अर्ब ४४ करोड रुपैयाँ वितरण योग्य नाफाबाट सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

प्राइम बैंकः गत आवमा बैंकले २ अर्ब ३४ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १४.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

ग्लोबल आईएमई बैंकः हाल २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा ३ अर्ब १९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १३.४५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

एनसीसी बैंकः गत आवमा बैंकले १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १३.२४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

एनएमबि बैंकः सो अवधिमा बैंकको २ अर्ब ३९ करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई १३.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सानिमा बैंकः बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा १ अर्ब ४६ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्दा सेयरधनीलाई १२.९८ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

माछापुच्छ्रे बैंकः गत आवको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम छ । सो अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हुँदा सेयरधनीलाई १२.९५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

बैंक अफ काठमाण्डूः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड रुपैयाँ छ । हाल १० अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी कायम बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२.२५ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ ।

कुमारी बैंकः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ७७ करोड रुपैयाँ छ । सो अवधिमा बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १२.०६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

मेगा बैंकः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । हाल १४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी कायम बैंकले गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई ११.१६ प्रतिशत लाभांश वितरण गर्न सक्ने सक्ने देखिन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकः गत आवको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ कायम छ । सो अवधिमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हुँदा सेयरधनीलाई ११.१३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

प्रभु बैंकः हालसम्म १२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा १ अर्ब ४१ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई ११.१२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

सिभिल बैंकः बैंकले गत आवमा १ अर्ब रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ९ अर्ब ७ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई ११.०९ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

लक्ष्मी बैंकः बैंकले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

सिटिजन्स बैंकः गत आवमा बैंकले १ अर्ब ४२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ कायम हुँदा सेयरधनीलाई १०.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सेञ्चुरी बैंकः गत आवमा बैंकले ९१ करोड ११ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ कायम हुँदा सेयरधनीलाई ९.५४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सनराइज बैंकः हाल १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा २५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हुँदा सेयरधनीलाई २.५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स