काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमकाबीच नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख शाहले ‘नो हर्न’ लेखिएको पहेंलो स्टिकर एकअर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको शुभारम्भ भएको घोषणा गरे ।
‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्तामा सचेतना फैलाउन आजदेखि पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।
हर्नले ध्वनी प्रदूषण मात्र नभइ व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले ‘नो हर्न’ कार्यक्रमलाई निरन्तरता दिन लागिएको काठमाडौं महानगर प्रमुख शाहले बताए ।
काठमाडौं उपत्यकामा ध्वनी प्रदूषण नियन्त्रणका लागि २०७४ वैशाख १ गतेदेखि ‘नो हर्न’ लागू गरिएको थियो । अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ । केही समय लागू भए पनि पछिल्लो समयमा कार्यान्वयन हुन सकिरहेको थिएन । अहिले पुनः कार्यक्रमलाई तीव्रता दिन लागिएको छ ।
यस्तो अवस्थामा बजाउन पाइने
२०७४ सालमै लागु भएको नियम अनुसार अब जुनसुकै ठाउँमा हर्न बजाउन पाइने छैन । सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइने ट्राफिक महाशाखाले जनाएको छ ।
त्यस्तै जोखिमयुक्त मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग पाइने बताइएका छ । यदि काठमाडौं उपत्यका भित्र अनावश्यकरुपमा हर्न बजाए ५०० रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । ‘नो हर्न’को नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा भने लागू हुनेछैन ।