महोत्तरी । स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापामाथि २०७९ अनुसार १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उनी माथि सो बेरुजु देखिएको हो ।
आर्थिक वर्ष २०७६/७७ को प्रारम्भदेखि उनी सो नगरपालिकामा कार्यरत छन् । २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हालेका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७/७८ सम्म १२ करोड बेरुजु नाघेको हो ।
उनीमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने ६ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने ७७ लाख ९० हजार र पेश्की दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै छ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८/७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ ।
कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७/७८ सम्ममा नगरपालिकाको गत वर्ष (२०७६/७७) को ४३ करोड तीन लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो ।
पछिल्लो आव २०७७/७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ ।