काठमाडौं । आजको प्रतिनिधिसभामा बोल्दै परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई परराष्ट्र मन्त्रालयले साउन ९ गते पत्राचार गरिएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभामा शुक्रबार जानकारी दिँदै मन्त्री खड्काले ‘‘मिति २०७९ साउन ९ गते कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकार समक्ष पठाइएको जानकारी गराउन चाहन्छु,’ भने ।
एसपीपीबारे संसदमा बारम्बार प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले त्यस सम्बन्धमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका थिए । मन्त्री खडकाले सांसदहरूको संशयप्रति आपत्ति जनाउँदै ‘पत्राचारको विषयमा अन्तरिक परामर्शका कारण केही समय लागेको हो । केही सांसदहरूले यसमा संशयसमेत व्यक्त गरेको सुनिएको छ‚’ उनले भने‚ ‘एसपीपीको विषयमा सरकार प्रस्ट थियो र‚ छ । नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयमा संशय व्यक्त गर्नु कदापि अस्वभाविक नै हुन्छ ।’
सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति अपनाएर कसरी राष्ट्रिय हित हुन्छ भन्ने बारे सचेत रहेको पनि खड्काले बताए ।