कमाउन थाल्यो नेपाल एयरलाइन्सले, आठ महिनामा ८ अर्ब आम्दानी

काठमाडौं । आर्थिक रुपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ ।

निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ । निगमले आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको उल्लेख गरेको छ । निगम व्यवस्थापनका अनुसार अहिले निगमले तीन अर्ब २७ करोड जतिबेला पनि चलाउन सक्छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्दा ५८ करोड नगद मौज्दात भएकामा करिब दुई अर्बको नगद मौज्दात भई एक अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषलाई ९० करोड) ऋण भुक्तानी गरिएको छ ।

दुई वर्षसम्म निगमले ऋण तिर्न नसकेको अवस्थालाई चिर्दै हाल निगमको अवस्था निकै राम्रो अवस्थामा रहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए । ओभर ड्राफ्ट रकम भुक्तानीले पाँच महिनाको अवधिको निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्व बापतको रकमसमेत बचत हुन गएको छ । यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ ।

निगमको आठ महिनामा ८ अर्ब आम्दानी

निगमले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम आठ महिना (साउनदेखि फागुन)सम्म आठ अर्ब ३८ करोड आम्दानी भएको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिमा आम्दानी पाँच अर्ब ७० करोड रहेको थियो ।

निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सेरिजका दुई वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको छ । कात्तिकमा ए–३२० ले सात घण्टा ३८ मिनेट र ए–३३० ले छ घण्टा ३८ मिनेटले बढेको छ । चैतमा नौ घण्टा ४८ मिनेट ए–३२० को र १० घण्टा ४१ मिनेट ए–३३० को समय बढेको छ । विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडानहरू पुनः सञ्चालन भएका छन् ।

निगमका एक उच्च अधिकारीका अनुसार कात्तिकमा दिल्लीको दैनिक एक उडान भएकामा हाल दुई उडान भइरहेको छ । मुम्बईको बन्द रहेको उडान हाल सातामा तीन उडान भइरहेको छ । बैंगलौर, दोहा, दुबई, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र साउदी अरबमा उडान सङ्ख्या बढाएर उडान भएका छन् ।

निगमले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वका यात्रुतर्फ २१ र कार्गोतर्फ २४ वायुसेवाहरूसँग सम्झौता गरी निगमको साख र आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ । अन्य उडानका कनेक्टिङ उडानमा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखी निगमको उडानको सीमालाई व्यापक सुधार गरी अन्तर्राष्ट्रिय ख्यातिमा पनि वृद्धि गरिएको छ ।

निगमले यात्रु सेवा पद्धति वायुसेवा कम्पनीहरूको जीवन रेखा मानिने ‘पिएसएस’ पद्धतिमार्फत रिजर्भेशन, टिकेटिङ, एयरपोर्ट चेकिङ, इन्टरनेट बुकिङ सञ्चालन हुने गरेको छ । मध्य तथा खाडी मुलुक जाने नेपाली श्रमिकलाई भाडा छुट, डिजी सर्टिफिकेट सेवा, गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र उडान, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीको सफल परीक्षण र अवतरण, केन्द्रीय कार्यालयमा सर्भेनियर सेल्स काउन्टर, जहाज र बोर्डिङ पासमा विज्ञापन, निगमर विद्युत् प्राधिकरणबीच सम्झौता, उद्धार र मेडिकल सामान आपूर्ति जस्ता कार्य निगमले छोटो समयमा पूरा गरेर आर्थिक अवस्था सुधार गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स