आधुनिक पोखरी निर्माण गरी व्यावसायिकरूपमा ट्राउट माछापालन शुरु

डोटी । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा व्यवसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय तीन कृषक मिलेर व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको रु १० लाख लगानीमा तीनवटा रेसवे (माछापालन) पोखरी निर्माण गरी ट्राउट माछापालन शुरु गरिएको हो । सायल–३ का हरिपाल खाती, वडा नं ४ रौवाका तेजबहादुर सिंह र वडा नं ५ का शेरबहादुर रोकायाले आधुनिक माछापालन पोखरी निर्माण गरी व्यवसाय शुरु गरेको स्थानीयवासी तेजबहादुर डुम्रेलले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेशको पोखराबाट रेन्बो ट्राउटका कम्तीमा पनि एक हजार ५०० भुरा ल्याएर पोखरीमा हाली माछापालन शुरु गरिएको छ । कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण ट्राउट माछाका भुरा ल्याउन केही समय ढिलाइ भए पनि अहिले निषेधाज्ञा खुकुलो भएसँगै पोखराबाट माछाका भुरा ल्याई पोखरीमा राखिएको माछापालक किसान खातीले बताए ।

जिल्ला भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीको टोलीले गरेको प्रारम्भिक अध्ययनले सो ठाउँ ट्राउट माछापालन र भुरा उत्पादनका निम्ति उपयुक्त रहेको निष्कर्ष निकालेपछि पहिलोपटक व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको गाउँपालिका उपाध्यक्ष विष्णा सिंहले जानकारी दिए । उनका अनुसार स्थानीय युवाको अगुवाइमा व्यावसयिकरूपमा माछापालन गर्नका लागि विसं २०७२ देखि सायल क्षेत्रमा ट्राउट माछापालनको सम्भाव्यता अध्ययन गरिएको थियो । ट्राउट माछापालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष थप रु छ लाख रकम विनियोजन गरेको बताइएको छ ।

चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने ट्राउटलाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाका रूपमा लिइन्छ । चिसोपानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुने प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ तर यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिगे्रड तापक्रम उपयुक्त मानिन्छ ।

नेपालमा रेन्बो ट्राउट पालन सन् १९८९ बाट शुरु भएको बताइएको छ । त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहारस्वरुप नेपाल पठाएको थियो । नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो । परीक्षण गरिएको ट्राउटको बिक्री वितरण सन् १९९७ मा पहिलोपटक गरिएको थियो । यसैगरी यसअघि जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पनि उक्त माछापालन शुरु गरिएको थियो । स्थानीय युवा लीलाधर विष्टले रेन्बो ट्राउट माछापालन शुरु गर्नुभएको हो । उक्त माछाको बजार मूल्य प्रतिकिलो रु एक हजार ७०० पर्ने गरेको उनले जानकारी दिए ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार रेन्बो ट्राउट माछालाई दाना प्रायः हातैले दिइने गरिन्छ । दाना खाए÷नखाएको हेरेर दाना दिनु पर्दछ । दाना दिँदा माछा राखेको ट्याङ्कीको चारैतिर बराबर छरेर दिनु पर्दछ, जसले गर्दा सबै माछाले दाना खान पाउँछन् र सबैको एकनासले वृत्तिविकास हुन्छ । भुरा तथा हुर्काउला माछाको वृद्धि जाँच हरेक १५ दिनमा गर्नुपर्ने प्रावधान रहेको छ । माछा बढेको अनुपातमा दाना पनि बढाएर दिनु पर्दछ । माछाको मुखको साइजलाई दृष्टिगत गरी मिल्दो साइजको दाना खुवाउनुपर्ने माछा प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स