बोर्ड अध्यक्ष सहितको टोलीबाट भारतीय पूँजी बजारको अध्ययन भ्रमण सम्पन्न

काठमाडौं । भारतीय पूँजी बजारको नियामक निकाय सेक्युरिटि एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी) को निमन्त्रणा यही असार २७ गतेदेखि ३१ गतेसम्म बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा का.मु. कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उप कार्यकारी निर्देशक कृष्णराज पोखरेल र का.मु. उप कार्यकारी निर्देशक नारायण प्रसाद शर्मा सहितको टोलीले भारतीय पूँजी बजारको अध्ययन भ्रमण सम्पन्न गरिएको छ ।

भ्रमणका क्रममा बोर्डका पदाधिकारीहरुले सेबी, बम्बई स्टक एक्सचेञ्ज(बि.एस.इ), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटि मार्केटस(एन.आइ.एस.एम) र मल्टी कमोडिटि एक्सचेज अफ इण्डिया(एम.सि.एक्स.) का उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल भएको हो ।

भारतीय धितोपत्र बजारको नियमन निकाय सेबीका अध्यक्ष श्रीमती माधवी पुरी बुच तथा बोर्ड अध्यक्ष हमालबीच शिष्टाचार भेटघाट तथा द्धिपक्षीय सहयोग आदान प्रदान सम्बन्धमा छलफल भएको थियो । सो क्रममा दुई अध्यक्षबीच आगामी दिनमा यी निकायहरु बीच Long Term Co-operation स्थापित गरी समन्वय र सहकार्य गरी अगाडि बढने प्रतिवद्धता व्यक्त गरे ।

साथै नेपालको पूँजी बजार विकासको लागि भारतीय पूँजी बजारको Best Practices तथा अभ्यासहरुको मुख्यतः संस्थागत क्षमता अभिवृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाईन सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिवृद्धिका लागि गरिनुपर्ने कार्य सम्बन्धमा आपसी सहयोग गर्ने सम्बन्धमा छलफल भयो ।

बोर्ड अध्यक्षसहितको टोलीले बि.एस.इ.का प्रमुख कार्यकारी अधिकृत आशिष कुमार चौहानसहितको उच्च पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेको थियो । सो क्रममा उक्त एक्सचेञ्जले प्रयोग गरिरहेको कारोबार प्रणाली, सुपरिवेक्षणका लागि गरेको व्यवस्था र साईबर जोखिम कम गर्नका लागि गरेको व्यवस्था सम्बन्धमा जानकारी प्राप्त हुनुका साथै प्रणालीको अवलोकन गरिएको थियो ।

सो क्रममा बि.एस.इ का प्रमुखले नेपालको धितोपत्र बजार विकासका लागि सहयोग गर्न तत्पर रहेको भनाई राखेका थिए । त्यस्तै वित्तीय साक्षरता अभिवृृद्धिका लागि सेबीको अग्रसरतामा स्थापित एन.आइ.एस.एम. को भ्रमण गरिएकोमा उक्त संस्थाको स्थापना, संरचना, संचालनमा रहेको स्कुलसम्बन्धी जानकारी लिनुका साथै आगामी दिनमा प्रभावकारीरुपमा वित्तीय साक्षरता अभिवृद्धिका लागि सेबोनद्वारा नेपालमा स्थापना गरिने पूँजी बजार प्रशिक्षण इन्स्टिच्युटको संचालनमा ल्याउन समन्वय तथा सहकार्य गर्ने छलफल भएको छ ।

यस भ्रमणले भारतीय बजारको नियमन व्यवस्था, कानुनी व्यवस्था, नियामकीय प्रविधिको विकास साथै नियमन निकायले बजारको विश्वसनीयता अभिबृद्धि गर्नका लागि खेल्नु पर्ने भूमिका र बजारको अनुगमन तथा सुपरिबेक्षण के कसरी गर्नु पर्दछ भन्ने विषयमा जानकारी प्राप्त भयो ।

त्यसै गरी अध्ययनको क्रममा मुख्यतः Regulatory Framework, Digitalization of Regulatory System, AI based Surveillance System, Investor Grievances Mechanism, Trading System Pj+ Financial Literacy का सम्बन्धमा अन्तरक्रियात्मक छलफल समेत भएको थियो ।

समग्रमा यस भ्रमणबाट दुई देशका नियामक निकायबीच दीर्घकालीन समन्वय तथा सम्बन्ध स्थापित भई नेपालको धितोपत्र बजारमा आधुनिक सूचना प्रविधिको विकास तथा विस्तार भई बजारको उचित विकास र सन्तुलनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स