कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौं । देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोपको दोस्रो मात्रा आज लगाइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ । दोस्रो मात्रा लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड देखाउनु पर्नेछ ।

पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउनका आग्रह गर्नुभयो । खोप अभियान यही साउन ८ गतेसम्म सञ्चालन हुने छन् ।

प्रदेश नं १ को मोरङ, सुनसरी, इलाम र झापा, मधेस प्रदेशको सिराहा, सप्तरी, महोत्तरी, धनुषा र पर्सा, बागमती प्रदेशको मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली,, काभ्रेपलाञ्चोक र चितवन छन् ।

यस्तै गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ ।

दोस्रो चरण बाँकी ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्राको खोप लगाइने छ । सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स