काठमाडौं । नेपाल ट्रष्टको नाममा रहेको मातातीर्थ, थानकोट, सतुंगल तथा इंचगुनारायणमा रहेको १७२ रोपनी १५ आना जग्गा नामसारी गर्दा अनियमति भएको महालेखापरीक्षकको कार्यालयले ठहर गरेको छ । महालेखापरीक्षकको कार्यालयले नेपाल ट्रष्टको स्वामित्वमा रहेको अचल सम्पत्ति कुनै व्यक्ति विशेष वा संस्थापकको नाममा दर्ता हुन नसक्ने उल्लेख गर्दै उक्त जग्गा नेपाल ट्रष्टको नाममा ल्याउनु पर्ने बताएको हो ।
नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ११ मा प्रचलित कानुनमा जुनसुकै कुरा देखिएको भएतापनि ट्रष्टको स्वामित्वमा रहेको अचल सम्पत्ति कुनै पनि व्यक्ति विशेष वा संस्थापकको नाममा दर्ता हुन नसक्ने उल्लेख गरेको छ ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा मन्त्रीपरिषद्को २०६४ भदौ २६ गतेको निर्णय अनुसार उक्त मोही वा उनका हकवालाको नाममा नामसारी गरिएको थियो । ऐनमा गरेको व्यवस्था विपरीत ट्रष्टको सम्पत्ति मोहीको नाममा दर्ता गर्ने अनियमति भएको भन्दै महालेखापरीक्षकको कार्यालय प्रश्न उठाएको हो ।
त्यसरी नै महालेखाले बालाजु, स्वयम्भू, शेष नारायण, थानकोटलगायतका ११ स्थानमा रहेको ४०४ रोपनी जग्गा हालसम्म पनि मोहीले नै खेती गरिरहेको, एक निजी विद्यालय सञ्चालनमा रहेकोले उक्त जग्गा समेत नेपाल ट्रष्टको नाममा ल्याउनु पर्ने महालेखाको ५९ औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।
दरवारमार्गस्थित २ रोपनी २ पैसा २ दाम जग्गा वार्षिक साढे ४ करोड रुपैयाँ भाडा लिनेगरी एक प्राइभेट कम्पनीलाई विक्रम सम्वत् २१०४ सालसम्म लिजमा दिइएको छ । उक्त स्थानमा ३ तलासम्मको भाडा दर निर्धारण गरी जग्गा भाडामा दिएपनि उक्त स्थानमा ४ तलाको स्थायी भवन थप एक तला अस्थायी भवन निर्माण भएकाले उक्त कार्यबाट कम्पनीले ट्रष्टसँग गरेको सम्झौताभन्दा फरक काम भएकोले बजार मूल्यअनुसार भाडा असुल गर्न प्रक्रिया थाल्न समेत महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।
ट्रष्टको नाममा रहेको ताहाचलमा रहेको जग्गामा पनि सम्झौत गर्दा ६ तलाको भवन निर्माण गर्ने भनिएता पनि १२ तले भवन निर्माण भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महानगरले १३ महिनाको भाडा तिरेन
त्यस्तै काठमाडौं महानगरपालिकासँग काठमाडौं प्लाजाको १३ महिनाको भाडा असुल गर्न पनि महालेखाले निर्देश गरेको छ । नेपाल ट्रष्टसँग महानगरपालिकाले १० वर्षको लागि हरेक ५ वर्षमा १० प्रतिशतका दरले भाडा बढाउने गरी उक्त भवन भाडामा लिएको हो । महानगरले मासिक ६० लाख ५० हजार भाडा तिर्ने गरी उक्त जग्गा भाडामा लिएको हो । २०७७।३।३ मा उक्त भवन महानगरले भाडामा लिएपनि हालसम्म भाडा तिरको छैन । सम्झौता भएदेखि २०७८ असारमसान्तसम्म भाडा नबुझाएको उक्त भाडा असुल गर्न पनि महालेखाले भनेको छ ।