काठमाडौं । सरकारले १२ देखि १८ वर्ष उमेर समूहलाई कोभिड विरुद्धको खोप लगाउन अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीसँग खोप खरिद गर्ने भएको छ । कम्पनीले उत्पादन गरेको खोप सो उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको हो । फाइजरसँग ६० लाख खोप खरिद गर्न सरकारले सम्झौता गरिसकेको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सो कम्पनीले उत्पादन गरेको खोप खरिद गर्नको लागि विश्व बैंकसँग सम्झौता गर्न महानिर्देशकलाई अधिकार दिने निर्णय मन्त्रीपरिषदबाट गराएका छन् । विभागले खोप खरिद गर्न अन्य कम्पनीलाई पनि पत्राचार गरेको थियो तर फाइजर सकारात्मक भएपछि प्रक्रिया अघि बढेको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले फाइजर र मोडर्ना खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहलाई पनि लगाउन मिल्ने प्रमाणित गरिसकेको छ । १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीका लागि आवश्यक १ करोड डोज खोपमध्ये थप ४० लाख कोभ्याक्सको समन्वयमा ल्याउने तयारी मन्त्रालयले गरेको हो । ‘६० लाख खोप खरिद गर्न फाइजरसँग एग्रिमेन्ट भइसक्यो,’ उनले भने, ‘थप ४० लाख डोज कोभ्याक्सअन्तर्गत साझेदारी सहुलियतमा ल्याउने गरी प्रस्ताव तयार भएको छ ।’
सरकारले खोप ल्याउन सम्झौता गरेपनि आउन भने अझै ६ देखि ९ महिना लाग्ने देखिएको छ । सरकारले पुससम्म खोप उपलब्ध गराउन आग्रह हो । तर, कम्मनीले सन् २०२२ को अप्रिल (वैशाख) सम्म दिन सक्ने जनाएको छ । फाइजर कम्पनीबाट खोप खरिद गर्न आवश्यक रकमको व्यवस्थापन मिलाउन विश्व बैंकसँग ऋण सम्झौताको तयारी सरकारले गरिरहेको छ । खरिद सम्झौतामा अर्थ मन्त्रालय समेत सहमत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।