काठमाडौं । कीर्तिपुर नगरपालिकाकी २८ वर्षीया एक महिला जति खुसी देखिन्छिन् त्यतिकै बैतडीकी ३३ वर्षीया महिलाको अनुहारमा पनि चमक छ । निःसन्तान उनीहरुमा अहिले सन्तानका लागि ‘आइभिएफ’(इनभिट्रो फर्टिलाइजेसन) पद्धतिमार्फत गर्भाधान सफल भएपछि उनीहरुमा खुसी देखिएको हो ।
चिकित्सकका अनुसार महिलाको पाठेघरको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको वा अन्य कुनै महिलाबाट लिनुपर्ने भए वा पुरुषको वीर्यमा कुनै खराबी देखियो भने अण्डा र वीर्य झिकेर संयोजन गराइ प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा निश्चित दिनसम्म राखिन्छ ।
यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै ‘आइभिएफ’ पद्धति हो । सुरुआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई ट्युबमा विकास गरिने भएकाले यसलाई ‘टेस्ट ट्युब बेबी’ भनिएको हो ।
यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशील संस्था नेपाल परिवार नियोजन सङ्घले पहिलोपटक सञ्चालनमा ल्याएको ‘टेष्ट ट्युब बेबी तथा बाँझोपन उपचार केन्द्र’ मा उनीहरुले ‘आइभिएफ’ सेवा लिइरहेका छन् ।
निःसन्तान दम्पतीलाई लक्षित गर्दै सङ्घले गत चैत महिनादेखि सो केन्द्र सञ्चालनमा ल्याएको थियो । केन्द्रका प्रमुख डा. स्मिता कर्माचार्यले भने, ‘मार्चदेखि सुरु ‘आइभिएफ’ क्लिनिकमा दुईजनाको ‘टेष्ट ट्युब बेबी’का लागि गर्भाधारण गराउन सफलता मिलेको छ । उनीहरुको स्वास्थ्य पनि राम्रो छ । आशा छ उनीहरुले स्वस्थ नवजात शिशुलाई जन्म दिनुहुनेछ ।’ विश्वव्यापी रुपमा आइभिएफ विधिको सफलता ४५ देखि ५० प्रतिशतसम्म रहेको जनाइएको छ ।
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कर्माचार्यका अनुसार यही असार अन्तिम तथा आगामी साउनको पहिलो हप्तामा निःसन्तान आठ महिलालाई ‘आइभिएफ’ सेवा दिने तयारी थालिएको छ । यसका लागि सङ्घले मोडेल अस्पतालसँग सहकार्य गरेको छ ।
यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यका क्षेत्रमा उपचारात्मक तथा प्रवद्र्धनात्मक दुवै सेवा प्रदान गरिराखेको सङघले आफ्नो स्थापनाको ६३ वर्षपछि सो क्लिनिक सञ्चालनमा ल्याएको थियो । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको तत्कालीन मन्त्रिमण्डलमा एकमात्र महिला सहायकमन्त्री द्वारिकादेवी ठकुरानीले सङ्घको स्थापना गरेका थिए । उनले पहिलो स्वास्थ्य सहायकमन्त्री बन्ने शौभाग्यसमेत पाएका थिए ।
सङ्घका व्यवस्थापक डा. नरेशप्रताप केसीले भने, ‘सङ्घले प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक सबै प्रकारका क्लिनिकल सेवा प्रदान गरिराखेको छ । हाम्रो सेवा सस्ता छन् साथै असाहय, विपन्नका लागि निःशुल्क पनि छन् । सुरक्षित गर्भपतन सेवा, वैवाहिक समानतामा निरन्तर पैरवी तथा परिवार व्यवस्थापनका सेवा निरन्तर जारी छन् ।’
सङ्घले ‘आइभिएफ’ क्लिनिक सेवाका लागि दुई लाख ३० हजार शुल्क निर्धारण गरेको छ । यो सेवा परोपकार प्रसूति अस्पतालमा दुई लाख २० हजार तथा निजी अस्पतालमा तीन लाखभन्दा माथि रहेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विवाहिता दम्पतीमध्ये २० प्रतिशतमा निःसन्तान हुने समस्या छ । चिकित्सकका अनुसार दम्पतीले एक वर्षसम्म परिवार नियोजनका साधन प्रयोग नगरिकन नियमित शारीरिक सम्बन्धमा रहँदा भ्रुण बसेन भने यसलाई बाँझोपन भनिन्छ ।
डा. कर्माचार्यका अनुसार पाठेघरमा शिशु बन्ने प्रक्रिया हुन नसके ‘आइभिएफ पद्धति’ प्रयोग गरिन्छ । शिशु बन्ने प्रक्रियालाई कृत्रिम तरिकाले बाहिर प्रयोगशालामा गरिनुलाई ‘आइभिएफ’ पद्धति भनिन्छ । डा. कर्माचार्यका अनुसार ‘आइभिएफ’ पद्धतिमा पूर्वतयारी, महिलाको अण्डा बाहिर झिक्ने र बाहिरीरूपमा विकासित भ्रुण उपकरणमार्फत पाठेघरमा पठाउनेलगायतका चरण छन् ।
बाँझोपनको अवस्थामा ट्युब, डिम्बाशय, हार्मोन अथवा पुरुषमा केही खराबी छ कि भनेर पत्ता लगाइन्छ । उनका अनुसार यसपछि मात्रै उसको उपचार सुरू हुन्छ । पूर्वतयारी अवस्थामा निःसन्तान दम्पतीको बाँझोपनसम्बन्धी अवस्थाको चिकित्सकीय माध्यमबाट श्रीमान्÷श्रीमतीको सम्पूर्ण जाँच तथा अध्ययन गरिन्छ । सामान्यतः महिलाको पाठेघरको जाँच गरिन्छ । यसपछि महिनावारी हुने वित्तिकै सुई लगाइन्छ र उनको डिम्बाशयलाई हर्मोनको माध्यमबाट विस्तार गरेर धेरै अण्डा बनाइन्छ ।
डा. कर्माचार्यले भने, ‘जतिबेला डिम्बाशयमा अण्डा परिपक्व हुन्छ । एउटा सुई दिएर ३४–३५ घण्टापछि अण्डा बाहिर निकालिन्छ । यो प्रक्रिया शल्यक्रियामार्फत हुन्छ । यसरी झिकिएको अण्डालाई ‘इन्कुबेटर’ उपकरणमा वीर्यसँग उपयुक्त वातावरणमा संयोजन गराई प्रयोगशालामा राखिन्छ । त्यहीँ भ्रुण विकास हुन्छ ।’
उनले भने, ‘सामान्यतया, पहिलो चरणको प्रक्रियामा पाँचभन्दा बढी भ्रुण बनाइन्छ । महिलाको अवस्था हेरर एक वा दुई भ्रुण पाठेघरमा हाल्ने गरिएको छ । बाँकी भ्रुण सुरक्षित राखिन्छ । यदि पहिलोपटक सफल नभए, अर्कोपटक बाँकी रहेकाबाट पुनः पाठेघरमा राखिन्छ । दोस्रो पटक पाठेघरमा भ्रुण हाल्दा सुरूका प्रक्रियामा जानुपर्दैन । प्रयोगशालामा राखिएको भ्रुण राख्ने मात्र हो ।’ उनका अनुसार भ्रुण राखेको आठदेखि १० हप्ता पुगेपछि सामान्य गर्भवतीजस्तै हुन्छ । सामान्य गर्भवतीलाई एक–एक महिनामा स्वास्थ्य संस्थामा बोलाएजस्तै आइभिएफ गरेकालाई पनि बोलाइन्छ । यस्तै सामान्य टिटनास खोप, आइरन र क्याल्सियम दिइन्छ । प्रसूति पनि सामान्य प्रक्रियाबाट हुन्छ ।