काठमाडौं । छानबिनपछि निर्दोष देखिएपछि नेता शर्माले नै पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने समेत नेता वर्षमान पुनले संकेत गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता पुनले यस्तो बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले प्रश्न उठाउनु र दोषी करार हुनु फरक विषय भए पनि त्यसलाई एउटै हो भन्ने ढंगले प्रचार गरेकामा समेत नेता पुनले आपत्ति जनाए । उनले छानबिन अघि नै शर्मामाथि कारवाहीको माग गरेमा समेत आपत्ति जनाए ।
नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधिसभाले आज मात्रै विशेष संसदीय समिति गठन गरेको छ । सो समिति गठन लगत्तै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गरे ।
पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताए । उनले छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्रीको प्रस्ताव नगरिने उल्लेख गरे । प्रतिनिधिसभाले आज मात्रै ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई १० दिनको समयावधी दिइएको छ ।