धनगढी । तीन जना अपरिचित भारतीय नागरिकले लिफ्ट मागेर कैलालीको बुढीतोलामा एक नेपालीलाई लुटेका छन् ।
महेन्द्रनगरदेखि तीनजना भारतीय मूलका नागरिकले खानीडाँडासम्म जाने भन्दै लिफ्ट मागेर लुटपाट गरेका हुन् ।
उनीहरुले कैलालीको गोदावरी नगरपालिका–५ स्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको सामग्री लुटेर भगेका हुन्।
लुटेराले भण्डारीकोे प्रदेश ०१–२३–च ६०२१ नम्बरको कारसमेत लुटेर भागेका छन् ।
भण्डारीका अनुसार ‘महेन्द्रनगरबाट उनीहरुलाई लिफ्ट दिएर ल्याएको र बुढीतोला क्षेत्रमा आइपुगेपछि फोटो खिचौं भनेर कार रोक्न लगाई उनीहरुले म माथि कुटपिट र ढुंगाले हानि प्लास्टिकले हातखुट्टा र मुख बाँधेर सडकदेखि करिब एक सय मिटर तल भिरमा छोडिदिएर गाडी उतै फर्काएर लगे ।’
घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले लुटिएको गाडीको खोजी भइरहेको जनाएको छ ।