काठमाडौं । बीमा समिति ९ वटा बीमा कम्पनीलाई गोप्य पत्राचार गरेको छ । कम्पनीले गोप्य पत्राचार गर्दै कि मर्जर जान कि त क्रस होल्डिङको सेयर बिक्री गर्न निर्देशन दिएको हो । बीमा समितिले बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई कि त मर्जरमा जान वा नभए अन्य कम्पनीको सेयर बिक्री गर्न भनेको हो ।
‘बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृतले हाम्रोअर्थसँग कुरा गर्दै भने ‘मर्जर जाने वा सेयर बिक्री गर्ने दुई विकल्पमध्ये एउटा रोज्न निर्देशन गरेको छ । यदि कम्पनीहरूले अटेर गरे हदैसम्मको कारवाही गर्ने पनि चेतावनी समेत समितिले दिएको छ ।
बीमा समितिले सबै बीमा कम्पनीसँग शुन्य दशमलव ५ प्रतिशतभन्दा बढी सेयर लिएका लगानीकर्ताको विवरण माग गरेको थियो । उक्त विवरणको अध्ययनपछि समितिले नौ वटा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको हो ।
बीमा समितिका अनुसार नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनी, आईएमई लाइफ र रिलायवल लाइफ इन्स्योरेन्समा धेरै प्रवद्र्धक समान रहेका छन् । ज्योति लाइफ र युनियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ र सूर्या लाइफमा समान प्रवद्र्धक सेयरधनी रहेका देखिन्छ । नेपाल इन्स्योरेन्स, पु्ररुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा पनि समान प्रवद्र्धक रहेको बीमा समितिले जनाएको छ ।
समितिले गत साता नै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकलाई बोलाएर क्रस होल्डिङ भएका कम्पनीको सेयर कि त बिक्री गर्न कि छाड्न भनेको हो ।
लगत्तै बीमा समितिले साझा सेयरधनी (क्रस होल्डिङ) देखिएका कम्पनीका लगानीकर्ताहरुलाई तीन बुँदे लिखित निर्देशन पठाएको बीमा समितिले जानकारी दिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, आईएमई लाइफ, रिलायवल नेपाल लाइफ, ज्योति लाइफ, सूर्या लाइफ, नेपाल इन्स्योरेन्स, पु्रडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई यस्तो पत्र पठाएको बीमा समिति स्रोतले जनाएको छ ।