एमसीसी पासपछि बाक्लियो अमेरिकी उच्च पदस्थको भ्रमण, सैनिक जनरल आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन आज नेपाल आउँदैछन् । जनरल फ्लिन बिहीबार बेलुकी आफ्नै विमानमा काठमाडौं आउन लागेका हुन् । चारदिने औपचारिक भ्रमणका लागि चारतारे जनरल नेपाल आउन लागेका हुन् । उनी सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्र प्रमुखको जिम्मेवारी छन् ।

एमसीसी पास भएपछि अमेरिकाबाट उच्च पदस्थको यस्ता भ्रमणहरू बाक्लिएका छन् । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जिया जेठमा नेपाल आएकी थिइन् । त्यसअघि सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा सांसदको ५ सदस्यीय टोली, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणबारे प्रक्रिया चलिरहेका बेला अमेरिकाबाट सैनिक उच्चपदस्थको भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ । प्रधानसेनापति शर्मा असारमा अमेरिका जाँदै छन् । प्रधानमन्त्री देउवाले पनि असारमै अमेरिका भ्रमण गर्ने भनिएको । यद्यपि मिति तय भने हुन सकेको छैन ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने यसलाई फ्लिनको सद्भावना भ्रमण मात्रै भनेका छन् । उनका अनुसार शुक्रबार उनले सैनिक मुख्यालय जंगीअड्डा भ्रमण गर्ने कार्यक्रम छ । सैनिक मुख्यालयमा जनरल फ्लिनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गर्नेछ । त्यसपछि प्रधानसेनापति शर्मा र जनरल फ्लिनले भेटवार्ता हुनेछ । बेलुकी प्रधानसेनापति शर्माले जनरल फ्लिनको सम्मानमा रात्रिभोजमा सरिक हुने छन्  ।

जनरल फ्लिनले शनिबार माउन्टेन फ्लाइट गर्ने कार्यक्रम छ । उनी सगरमाथा आधार शिविर जाने र त्यस क्षेत्रमा रहेको एभरेस्ट भ्यू होटलमा बिहानको खाना खाने तयारी छ । त्यसमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले जनरल फ्लिनलाई साथ दिनेछन् । जनरल फ्लिनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गर्नेछन् ।

त्यहाँ बिहानको खाना खाएर शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा जाने र त्यहाँका विद्यार्थीलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि बेलुकी उनी कार्यक्रम तय भएको छ । यसबीचमा जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स