काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा सोमबार अवरुद्ध हुलाकी सडक खुलाउने सिलसिलामा भएको गोली प्रहारको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको सदनलाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सो घटनाका सम्बन्धमा जवाफ दिँदै सो घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए ।
समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रलालयका उपसचिव ध्रुव खड्का छन्।
छानबिन समितिले दिएको प्रतिवेदनअनुसार घटनामा संलग्न दोषीमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व रहेको प्रस्ट पारे । ‘त्यहाँ कुन अवस्थामा कसरी गोली चल्यो, आदेश कसले दियो भन्ने बारेमा सत्यतथ्य जानकारी आएपछि दोषीउपर कारबाही हुनेछ,’ उनले भने ।
घटनास्थलमा अहिले सर्वदलीय बैठक बसेको र स्थितिलाई सामान्य बनाउने प्रक्रिया अगाडि बढेको गृहमन्त्रीको भनाइ छ । घाइतेको उपचारको प्रबन्ध सरकारले गरेको भन्दै वन्यजन्तुबाट आमनागरिक प्रताडित हुन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको गृहमन्त्री खाणले बताए ।
‘निकुञ्ज क्षेत्रमा तारबार लगाउने, त्यसका लागि सम्बन्धित मन्त्रालयले तत्काल बजेट व्यवस्थापन गर्नेछ’, उनले भने, ‘स्थानीय उपभोक्ता समिति, वन समिति र स्थानीय तहसँग समन्वय गरेर तत्काल तारबार गरिनेछ ।’
गृहमन्त्री खाणले सो घटनालाई नियन्त्रणमा लिन प्रहरीलाई गोली प्रहार गर्ने आदेश नदिइएको जानकारी दिए । ‘नागरिकको आक्रोश, अवरोध र भीडमा गोली चलाउने आदेश छैन, सम्झाई, बुझाई गरी सर्वदलीय बैठकमार्फत समस्यालाई समाधान गर्ने, कमभन्दा कम शक्तिको प्रयोग गरी विवाद समाधान गर्ने सरकारको उद्देश्य छ’, गृहमन्त्री खाणले भने, ‘गोली चलाउने त आदेश नै छैन, बर्दियाका प्रमुख जिल्ला अधिकारीले पनि गोली चलाउने आदेश नदिएको धारणा राखेको, तर त्यहाँ गोली चलेको छ, यस घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले आजै बिहान छानबिन समिति गठन गरेको छ ।’
बर्दियाको मधुवन नगरपालिका–२ सोनाय गाउँका ४१ का सुरेन्द्र थारूलाई सोमबार बिहान खेतमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाले उनको कम्मर, दाहिने हात र तिघ्रामा चिथोरेको गृहमन्त्रीले जानकारी गराए । कोठियाघाट प्रहरी चौकीबाट खटिएको प्रहरीले घाइते थारूलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगेको पनि गृहमन्त्री खाणले जानकारी दिए ।
सोही दिन अपराह्न १ बजे मधुवन नगरपालिका–३ स्थिति ओराली बजारमा चितुवाको आक्रमणले घाइते बनाएको विषयलाई लिएर स्थानीय सामुदयिक वन समितिका पदाधिकारी तथा स्थानीय नागरिकले बाघ र चितुवाको आक्रमणलाई नियन्त्रण गर्नुपर्ने, निकुञ्ज क्षेत्रमा तारजालीको व्यवस्था गर्नुपर्ने, जनजीवन सुरक्षाको माग राखेर हुलाकी सडक अवरुद्ध भएको गृहमन्त्री खाणले जानकारी गराए ।
सुरक्षाकर्मीले सुम्झाई बुझाई अवरुद्ध राजमार्ग खुलाउने क्रममा स्थानीय उत्तेजित भई भीडले ढुंगामुढा गरेको जानकारी दिँदै उनले भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले केही थान अश्रु ग्यास र गोली प्रहार गरेको बताए । गोली प्रहारबाट स्थानीय नवीना चौधरीको निधन भएको उनले जानकारी दिए ।