दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी, १४ जनाको शव संकलन

म्याग्दी । तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् ।

घटनास्थलबाट १४ जनाको शव संकलन भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेका प्रहरीका अनुसार शव पहिचान हुन सक्ने अवस्थामा छन् । दुई शव जहाजले किचेको अवस्थामा देखिएको र अरू शव पनि जहाजमुनि दबिएको हुनसक्ने अनुमान गरिएको छ ।

यार्सागुम्बा संकलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

स्थानीयका अनुसार कोवाङमाथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको जनाइएको छ ।

जहाजमा चालक दलका ३ र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ नेपाली, ४ भारतीय र २ जर्मनी नागरिक थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स