स्थानीय निर्वाचनमा कहाँ कहाँ निर्वाचित भए महिला प्रमुख (पालिकासहित)

काठमाडौं । स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका २५ वटा पालिकामा प्रमुखमा महिलाहरू निर्वाचित भएका हुन् । आयोगको तथ्यांकअनुसार दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित भएकी छिन् भने कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भएकी हुन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका कुमारी चलाउने निर्वाचित भएकी छिन् । पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित र पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी निर्वाचित भएको आयोगको तथ्यांक छ ।

नवलपरासी (पूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल प्रमुखमा निर्वाचित भएका छन् । बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित भएकी छिन् ।

चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित भएका छन् भने मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामा निर्वाचित भएका छन् ।

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित भएका छन्  । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित भएकी छिन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित भइन भने सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पना कुमारी कटुवाल निर्वाचित भइन् । रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित भएका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित भएकी छिन् । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित भइन भने खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी भएकी छिन् । सोही जिल्लाको हँलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित भएकी छिन् ।

झापाको बिर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा र झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित भएका छन् । स्थानीय निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवारले उम्मेदवारी दिएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स