आयातको वृद्धिदर १० वर्षकै बढी, निर्यात पनि साढे एक खर्बको नजिक

काठमाडौं ।गत आर्थिक वर्षमा वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा आयातको वृद्धिदर १० वर्षयताकै उच्च रहेको हो । आर्थिक वर्ष २०७७/७८ मा २८.७ प्रतिशतले आयात बढेर १५ खर्ब ३९ अर्ब पुगेको हो । आव २०६८/६९ मा आयात वृद्धिदर २९.८ प्रतिशत थियो । गत आर्थिक वर्षमा आयातमात्रै बढेको छैन, निर्यात पनि बढेर १ खर्ब ४१ अर्ब पुगेको छ ।

गत आवमा भएको निर्यात अहिलेसम्मकै उच्च हो । नेपालको इतिहासमै पहिलोपल्ट १ खर्बभन्दा बढीको वस्तु देशबाट निकासी भएको हो । गत आवमा भएको निर्यात आव २०७६/७७ को भन्दा ४४.४ प्रतिशत बढी हो । अघिल्लो आवमा ९७ खर्ब ७० अर्बको निर्यात भएको थियो ।

निर्यातभन्दा आयातको परिमाण ११ गुणा हुँदा निर्यात वृद्धिदर बढी भएपनि व्यापार घाटा चुलिने क्रम भने रोकिएको छ । व्यापार घाटा अघिल्लो आर्थिक वर्षको भन्दा २७ प्रतिशतले बढेर १३ खर्ब ९८ अर्ब रूपैयाँ पुगेको छ ।

देशबाट वस्तु आयातका लागि बाहिरिने विदेशी मुद्रा १ महिनाको मात्र आयात धान्न पर्याप्त रहेको तथ्यांकले देखाउँछ । देशको मागअनुसार विदेशी वस्तुको आयातका लागि मासिक १ खर्ब २८ अर्ब रूपैयाँ विदेशीने तथ्यांकमा देखिन्छ ।

आव २०७६/७७ को तथ्यांक विश्लेषण गर्दा पनि मासिक ९९ अर्ब ७३ करोड रूपैयाँ वस्तु आयातका नाममा विदेशिएको । तर, वर्षभरको निर्यातबाट प्राप्त विदेशी मुद्रा ९७ अर्ब रूपैयाँमात्र थियो ।

भटमासको तेल, कार्पेट, अलैंची र चियाको निर्यातमा उल्लेखनीय सुधार आउँदा विषम परिस्थितिमा पनि नेपालको निर्यात दर बढेको देखिन्छ । भन्सार विभागका अनुसार भटमासको प्रशोधित तेलको निर्यात ४ गुणाले बढेको छ । २०७७ असार मसान्तसम्म १२ अर्ब ६९ करोडको भटमासको तेल निर्यात भएकामा २०७८ को असार मसान्तसम्म ५३ अर्ब ६५ करोडको निर्यात भएको छ ।

यस्तै कार्पेटको निर्यात सामान्य बढेर ७ अर्ब २४ करोड पुगेको छ । अलैंचीको निर्यात भने आँकासिएको छ । २०७७ असार असान्तसम्म २ अर्ब ५३ करोडको अलैंची निर्यात भएकामा २०७८ असारसम्म ७ अर्ब १ करोड रूपैयाँको निर्यात भएको छ । वार्षिक २५ देखि ३० लाख किलो अलैंची निर्यात हुने गरेकामा ८८ लाख ८२ हजार किलो पुगेको छ ।

धुलो अलैंची निर्यात घट्दा कच्चा अलैंची निर्यात भने बढेको छ । धुल्याइएर प्रशोधन गरेको अलैंची कच्चा अलैंची भन्दा महँगो पर्छ । यस्तै चिया निर्यात पनि बढेको छ । चिया निर्यात हालसम्मकै बढी भएको हो । भारतमा चिया उत्पादन घटेपनि नेपाली चियाको माग बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स