काठमाडौं उपत्यकाभित्रकोे फोहोर पहिलो पटक बन्चरेडाडाँ ल्याण्डफिल साइटमा खसाइयो

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा खसाउन शुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन शुरु गरिएको हो ।

नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम शुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमबार राति नै विसर्जनका लागि बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा काठमाडौंबाट पठाइएको थियो । सोही राति मन्त्री झाँक्रीले बालाजु, रातोपुल लगायतका क्षेत्रमा फोहोर उठे नउठेको अनुगमन गरेकी थिईन । मंगलबार पनि काठमाडौंबाट फोहोर बोकेका ट्रक बन्चरेडाडाँतर्फ पठाइएका छन् ।

हाल काठमाडौं र ललितपुरबाट एक सयवटा ट्रक फोहोर बन्चरेडाडाँमा खसाइएको बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए । स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उनले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताए ।

मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर काठमाडौं र ललितपुरका चोक र गल्लीहरूमा फोहोर थुप्रिएको भन्दै तत्काल काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिईन ।

काठमाडौंमा नयाँ मेयरको आगमन अगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए । उनले जुनसुकै परिस्थितिमा पनि फोहोर व्यवस्थापनका लागि आफू तत्पर रहेको बताए ।

यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण फोहोर विसर्जन गर्न समस्या भएको थियो । फोहोर व्यवस्थापनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री झाँक्रीको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स