स्थानीय तहको दोस्रो निर्वाचन सुरु, ३५ हजार २२१ जनप्रतिनिधि चुनिने

काठमाडौं । आज दोस्रो स्थानीय तहको निर्वाचन । पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरुआत भएको हो । ‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा भाग लिन सुरु गरेका छन् । मतदान कार्य साँझ ५ बजेसम्म जारी हुनेछन ।

आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो । सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो ।

देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका छन् ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान सुरु भएको हो ।

आजको ऐतिहासिक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।

प्रदेश १ मा ३३ लाख ४७ हजार ३४८, मधेसमा ३३ लाख, ३१ हजार १७०, बागमतीमा ३४ लाख १२ हजार ८६९, गण्डकीमा १७ लाख ८९ हजार ४११, लुम्बिनीमा ३२ लाख १९ हजार ४५७, कर्णालीमा १० लाख एक हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता रहेका छन् ।

यसअघि निर्वाचनको मिति घोषणा भएका दिन १८ वर्ष उमेर पुगेका व्यक्तिले मात्र मतदानको अवसर पाउँदै आएका थिए । निर्वाचनमा ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला गरी कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स