धुलिखेल । सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र ? मानव स्वास्थ्यलाई हित गर्ने पनि उ बस्ने सफा ठाउँ र रैथाने या मीठो खाना नै हुन् ।
धुलिखेल अस्पतालमा बुधबार यिनै विषयमा चर्चा भयो । आमन्त्रित अतिथि थिए सफाइ अभियन्ता खेम शर्मा र मास्टर सेफ सन्तोष साह । यो वर्ष आफ्नो स्थापनाको पच्चीसौं वर्ष मनाइरहेको धुलिखेल अस्पतालले बुधबार बिहान सफाइ र नेपाली खाना क्षेत्रका जानकार यी दुई युवालाई आमन्त्रण गरेको थियो ।
अस्पतालसँग मिल्दो सरसफाइ र खानाका विषयमा अन्तक्र्रियाका लागि उनीहरु सो अस्पतालबाट आमन्त्रित थिए । मानिसको स्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने सरसफाइ र खाना नै हो भन्ने निष्कर्ष थियो, सो कार्यक्रमको । अन्तक्र्रियामा शर्मा र साहले यसका रहस्यहरुबारे सहभागीसँग आफ्ना अनुभव बाँढेका थिए।
अस्पतालका प्रमुख डा. रामकण्ठ माकजु बैठक कक्षमा प्रवेश गरेपछि अघिल्लो २४ घन्टामा गरिएका र आगामी २४ घन्टामा गर्नुपर्ने कामबारे ‘ब्रिफिङ’ सुरु भयो । अस्पतालका विभागीय प्रमुखहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ प्रस्तुत गरिरहँदा निकै ध्यान दिएर सुनिरहेका थिए सफाइ अभियन्ता शर्माले ।
अस्पतालका काममा सरसफाइले के कतिको महत्व पाएको छ र त्यसको रिपोर्टिङ कसरी हुन्छ भन्ने नै उनको चासो थियो । पछि उनले खुसी व्यक्त गर्दै भने, ‘सफाइका कुरा आए, अस्पताल प्रमुखले यसमा ध्यान दिएको सुन्दा राम्रो लाग्यो ।’
डा. माकजुले आफ्नो नियमित ‘ब्रिफिङ मिटिङ’मा नै उनीहरुलाई राखेका थिए । देश यतिखेर निर्वाचनको माहोलमा रहेका बेला यस अस्पतालले आफ्नो विषयसँग सम्बन्धित सरसफाइ र रैथाने खानाका बारेमा आफ्ना कर्मचारीसँग अन्तक्र्रिया गराएको थियो । त्यस क्रममा खेम शर्माले सरसफाइको महत्वबारे आफ्नो प्रस्तुति दिँदै अस्पताललाई कसरी सफा राख्ने भन्ने सीप सिकाएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर एक मापदण्ड प्रस्तुत गरेका खेम शर्माले वीर अस्पताल, पशुपतिनाथ हुँदै नेपालका विभिन्न स्थानमा सफाइ अभियान सञ्चालन गरेका थिए । उनले अहिले नेपालका सार्वजनिकस्थल, विमानस्थल, अस्पताल, निःशुल्क शौचालय, मन्दिर परिसर तथा पर्यटकीय महत्वका स्थलका बाटिका तथा विश्रामस्थलको सरसफाइको अवस्था र व्यवस्थाको अनुगमन गरिरहेको बताए ।
सफाइ मजदुरका रुपमा विदेशबाट सुरु भएको आफ्नो कथा सुनाउँदै नेपालमा व्यावसायिकरुपमा सरसफाइ कसरी गर्न सकिन्छ भन्ने आफ्नो अनुभव र सीप उनले त्यहाँ प्रस्तुत गरे । उनले भौतिक संरचना पुराना बन्न सक्छन् तर तिनलाई जस्ताको त्यस्तै बनाइराख्न सफा गर्नुपर्ने धारणा राखे ।
उनले अस्पतालका सफाइ मजदुरलाई आफ्नो सीप र अनुभव पनि बाँडे तर, उता सेफ सन्तोष साहले भने भौतिक संरचनाको नभएर सबैभन्दा पहिले मानिसले आफ्ना मस्तिष्कको सफाइ आवश्यक रहेको विचार व्यक्त गरे । आफ्ना संघर्षका कथा सुनाउँदै उनले नेपाली खानालाई कसरी अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिन्छ भन्ने आफ्नो धारणा राखे ।
साहले मानव स्वास्थ्यमा नेपाली र रैथाने खानाको महत्वको बारेमा चर्चा गर्दै नेपाली रैथाने खानाको पाककला पनि प्रस्तुत गरे । उनी अहिले नेपाली रैथाने खाना चाख्दै, बनाउन सिक्दै र आफ्नो सीप पनि थप्दै नयाँ–नयाँ परिकार सिर्जना पनि गरिरहेका छन् ।
उक्त अन्तक्र्रियामा चलेको सरसफाइको बहसपछि डा. माकजुले आफू पनि सरसफाइकर्मी रहेको बताए । उनले भने, ‘सफाइकर्मीको कामलाई हेर्ने दृष्टिमा फरक आवश्यक छ, म पनि सफाइकर्मी हुँ र मजस्तै सबै स्वास्थ्यकर्मी सफाईकर्मी हुन् । हामी वर्षौंदेखि मानिसको शरीरभित्रका फोहोरमैला सफा गरिरहेका छौं, सबैभन्दा ठूला सरसफाइकर्मी त हामी पो हौं ।’
आतिथ्यता (हस्पिटालिटी) विषयमा नेपालमा अध्यापन गराइरहेका खेम लकाइ, पाक शिक्षासम्बन्धी पुस्तकका लेखक डा. सुमन ताम्राकार र वरिष्ठ पत्रकार मनऋषि धितालले नेपालका अस्पताल तथा अन्य सेवा कार्यालयमा यस्ता विषयमा अन्तक्र्रिया र चर्चा गर्नु निकै सान्दर्भिक हुने सुझाव दिए ।
अन्तक्र्रियापछि शर्माले अस्पतालका सफाइ मजदुर र साहले उक्त अस्पतालको क्यान्टिनका सेफसँग उनीहरुको सीप वृद्धिका लागि दिएको व्यावहारिक ज्ञान महत्वपूर्ण रहेको प्रतिक्रिया सहभागीले जनाएका थिए ।