आज राति १२ बजेदेखि काठमाडौंसहित उपत्यकामा मदिरा बिक्री वितरण एवं सेवनमा निषेध

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् ।

ती कार्यालयले अलग अलग सूचना जारी गर्र्दै आज राति १२ बजेदेखि यही बैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज राति १२ बजेदेखि बैशाख ३० गतेसम्म ललितपुर जिल्लाभरि मदिरा बिक्री र खुलारूपमा सेवन नगर्न नगराउने सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिए ।

जिल्लाका छवटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

भक्तपुर जिल्लामा पनि आज राति १२ बजेदेखि बैशाख ३० गतेसम्म कुनै पनि मदिरा बिक्री तथा सेवन निधेष गरेको प्रमुख जिल्ला अधिकारी रुद्रावेदी शर्माले जानकारी दिए ।

मदिरा बिक्री गरेको, सेवन गरेको पाइए कारबाही गरिने बताउँदै उनले मतगणना नसकिएसम्म मतगणनास्थल आसपासमा मदिरा बिक्री एवं सेवनमा रोक लगाएको उनले जानकारी दिए ।

यसैगरी काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि आज मध्यरातिदेखि ३० गतेसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जानकारी दिएको छ ।

निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भए पनि मदिराजन्य पदार्थ बिक्री एवं सेवनमा रोक लगाइएको भक्तपुरकी प्रजिअ शर्माले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स