यस्तो छ मतदान गर्ने तरिका र मतबदर हुने अवस्था

काठमाडौं । यही बैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् ।

७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई वडा सदस्यलाई यही बैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ ।

गाउँपालिका र नगरपालिकामा एक/एक जना अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख निर्वाचित हुनेछन् । यस्तै पालिकाका प्रत्येक वडामा पाँच सदस्यीय वडा समिति निर्वाचत हुनेछ ।

आसन्न स्थानीय निर्वाचनमा ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउछन् ।

मतसंकेत गर्ने दिन मतदाता फोटोसहितको मतदाता परिचयपत्र लिएर आफ्नो नामावली भएको मतदान केन्द्रमा जानुपर्नेछ ।

मतदानको दिन नजिकिएसँगै निर्वाचन आयोग तथा राजनीतिक दलहरुले मतदाता शिक्षाका कार्यक्रम अगाडि बढाएका छन् । आयोगले सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमार्फत मतदानका लागि अपिल गर्दै आएको छ ।

यस्तै राजनीतिक दल तथा तिनका उम्मेदवारले मतदातालाई नमूना मतपत्रमार्फत बदर नहुने गरी मतदान गर्न सिकाइरहेका छन् ।

मतदातालाई सहज होस् भनेर निर्वाचन आयोगले सम्पूर्ण जिल्लाका नमूना मतपत्र सार्वजनिक गरिसकेको छ । मतपत्रको पहिलो कोलममा अध्यक्ष/प्रमुख, दोस्रोमा उपाध्यक्ष÷उपप्रमुख, तेस्रोमा वडाध्यक्ष, चौथोमा महिला वडा सदस्य, पाँचौंमा दलित महिला वडा सदस्य र छैटौंको दुई कोलममा वडा सदस्य दुई जना उम्मेदवारको निर्वाचन चिह्न राखिएको छ ।

प्रत्येक मतदाताले आफूलाई मन परेका उम्मेदवारको कोठाभित्र स्वतिक छापद्वारा मतसंकेत गर्नुपर्छ । स्वस्तिक छाप र मसी प्रत्येक मतदान केन्द्रमा व्यवस्था गरिएको हुन्छ ।

मतदाताले अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य दुई जना गरी सात जनालाई मात्र मतदान गर्न पाउँछन् ।

कुनै एक पदका लागि एकभन्दा बढी चिह्नमा मत संकेत गरे त्यस्तो मत बदर हुन्छ । दुई वटा चिह्नको बीचमा, कोठा बाहिर र लत्पतिने गरी छाप लगाएमा मत स्वतः बदर हुन्छ ।

यसैगरी स्वस्तिक छापको सट्टा औंठा छाप लगाएमा, मतपत्रमा केरमेट गरेमा, कुनै चिह्न कोरेमा, मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र प्रयोग गरेमा र मतपेटिका बाहिर मत खसालेमा त्यस्तो मत बदर हुने आयोगले जनाएको छ ।

मतदाताले मतदान केन्द्रमा राखिएको गोप्य मतदानस्थलमा गई आफूलाई मन परेको उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाई, छापको मसी नलतपतिने गरी पट्याएर मतपेटिका खसाल्नुपर्छ ।

मत बदर हुने अवस्थाहरुः

१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको
२. औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मतसंकेत गरिएको
३. मत संकेत चिह्न नबुझिने गरी लत्पतिएको वा च्यातिएको
४. उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यन्त्र मत संकत गरिएको
५. उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरिएको
६. कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरिएको
७. निर्वाचित गर्नुपर्ने सङ्ख्या वा बढी उम्मेवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछट्टै मतसंकेत गरिएको
८. मत संकेत नगरी मतदान अधिकृतलाई मतपत्र फिर्ता दिएको
९. आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको
१०. मतपेटिका भन्दा बाहिर राखिएको
११. जाली मतपत्र

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स