तालिमपछि व्यवसायी र प्रशिक्षक बन्दै महिला

बुटवल। हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार थिइन् । स्नातक तह उत्तीर्ण गरेर पनि हातमा सीप नहुँदा खाली बस्नाको पीडाले उनलाई निकै पिरोल्थ्यो । श्रीमानको कमाइले घरखर्च चलाउनै ठीक्क हुने भएकाले अन्य आवश्यकता पूरा गर्न समस्या थियो । बुटवल उपमहानगरपालिकाको महिला उद्यम विकास कार्यक्रमअन्तर्गत थाकलको पातबाट विभिन्न हस्तकलाका सामग्री बनाउने तालिम लिएपछि उनको जीवनस्तरमै ठूलो परिवर्तन आयो ।

पन्ध्रदिने तालिमले अधिकारीलाई उद्यमीका रुपमा स्थापित ग¥यो । स्थानीय जङ्गलबाट कच्चा पदार्थ ल्याएर थाकलबाट विभिन्न खालका झोला, टोपी बनाउने कार्यमा लगातार लागिपरेका अधिकारीले अहिले आफूजस्तै केही गर्न चाहने महिलालाई तालिम दिइरहेकी छन्। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत थाकलबाट विभिन्न सामग्री बनाउने तालिममा उनले प्रशिक्षण दिएकी छन् । बुटवलमा मात्रै होइन जिल्लाका अन्य नगरपालिकाले समेत प्रशिक्षकका रूपमा उनलाई बोलाउने गरेका छन् ।

‘बुटवल उपमहानगरपालिकाको एउटा तालिमले मेरो जीवनमा यति ठूलो परिवर्तन आयो । हिजोसम्म पाँच रुपियाँका लागि पनि हात फैलाउनुपर्ने अवस्था थियो, अहिले त उल्टै दिन सक्ने भएकी छु, यसले मलाई निकै उत्साहित बनाएको छ‘, खुशी हुँदै उनले भनिन् । लगानी कम लाग्ने र स्थानीय जङ्गलमै कच्चा पदार्थ पाइने भएकाले थाकलबाट विभिन्न सामग्री बनाउने तालिममा स्थानीय महिलाको रुचि रहेको उनको भनाइ छ । ‘बजारीकरणका लागि पोखरा र काठमाडौंमा पनि स्याम्पल पठाएकी छु । प्रतिक्रिया राम्रो आएको छ’, उनी भन्छिन् ।

उनले उपमहानगरपालिकाले अहिले वडा नम्बर ११ मजुवामा आयोजना गरेको तालिममा थाकलबाट सामान बनाउन महिलालाई सिकाइरहेकी छन् । ‘एक केजी थाकललाई साढे चार सयमा बेच्न सकिन्छ भने थाकलबाट बनेको ब्याग पाँच सयदेखि १२ सयमा बिक्री हुन्छ’, अधिकारी भन्छिन्, ‘एउटा ब्याग एक दिनमै सकिने भएकाले दिनमा पाँच सय सजिलै आम्दानी गर्न सकिन्छ । ’

बुटवल–१३ बदेलपोखरीकी गीता बोहराको दिनचर्या पनि आजभोलि फेरिएको छ । उपमहानगरको केशकर्तन तालिम लिएपछि आफ्नै व्यवसाय सुरु गरेकी बोहरालाई कपाल काट्न भ्याइनभ्याइ छ । बोहराले सैलुनमा पुरुष तथा महिलाको कपाल काट्ने, दाह्री बनाउने, फेसियल गर्नेलगायत सेवा दिँदै आएकी छन् । नब्बेदिने ‘हेयरकटिङ ट्रेनिङ’पछि दक्ष बनेकी बोहराले आफ्नै ठाउँमा ‘सानु युनिसेक्स सैलुन’ सञ्चालन गरी मासिक ४० हजारसम्म आम्दानी गर्न सफल भएकी छन् । ‘घरमै सबै बेरोजगार थिए तर अहिले सानो भए पनि आफ्नै उद्यम शुरु गर्न पाउँदा निकै आनन्द लाग्दोरहेछ ’, बोहराले सुनाइन् ।

बोहरा मात्रै होइन बुटवल १४ की राधिकम घिमीरे पनि सिपयूक्त भएकी छन् । सीप सिक्न जाँदा धेरै पैसा लागेपछि बीचमै छाड्नुभएका घिमिरेलाई उपमहानगरले ‘नगर प्रमुख युवा इलम कार्यक्रम’अन्तर्गत आयोजना गरेको सिलाइकटाइ तालिम जीवनमा परिवर्तन ल्याउने माध्यम बन्यो ।’खाली बस्नु पर्दा निकै तनाव हुन्थ्यो, सीप नभएपछि कतै जागिर पनि पाइन तर अहिले व्यस्त छु, खुशी छु ‘, घिमिरेले भन्नुभयो । उहाँले अहिले आफ्नै वडामा आयोजित ‘एडभान्स सिलाइकटाइ तालिम’मा प्रशिक्षण दिइरहनुभएको छ । हातमा सीप नहुँदा अथौभाव झेल्नुपर्दाको समस्या अहिले हटेको घिमिरेले सुनाउनुभयो ।

घिमिरे जस्तै बुटवल–१६ नरैनापुरकी पम्फादेवी सापकोटा पनि उद्यमी बनेर आय आर्जन गर्न सफल भएकी छन् ।उपमहानगरले आयोजना गरेको तीनमहिने ढाका बुनाइ तालिम लिएपछि आफ्नै घरमा ढाकाको तान राखेर व्यवसाय सुरु गरेकी सापकोटाले महिनामा २५ हजारसम्म आम्दानी गरेकी छन् । यस क्षेत्रमा ढाका बुनाइको तालिम नौलो भएकाले केही समय गाह्रो भए पनि पछि हात बस्दै गएकाले सहज भएको सापकोटाको अनुभव छ । ‘खाली समय व्यतीत गर्नुभन्दा समयमै सीप सिकेर आत्मनिर्भर बन्न जरुरी रहेछ’, सापकोटा भन्छिन्, ‘आफ्नो खर्चका लागि अरूसँग हात फैलाउन परेन भने त्यो नै ठूलो कुरा हो ।’सापकोटाले बुनेको एउटा ढाकाको सारीको न्यूनतम मूल्य दश हजार र एउटा पछ्यौराको दुई हजारसम्म पर्छ । बुन्न निकै मेहनत लाग्ने भएकाले मागअनुसार पु¥याउन नसकिएको सापकोटा सुनाउँछिन् ।

सापकोटा मात्रै होइन उहाँकी बुहारी लक्ष्मी बुढाथोकी पनि सिलाइकटाइ तालिमपछि सफल प्रशिक्षक बनेकी छन् । उनले सिलाइकटाइ तालिम भएका बेला प्रशिक्षण र अन्य समयमा घरमै ढाका बुन्ने गरेकी छन् । सासूबुहारी मिलेर उद्यम सञ्चालन गरेकाले निकै सहज भएको सापकोटा बताउँछिन् । ‘तालिम परेका बेला उनी तालिममा जान्छिन् , अरू बेला घरमा मिलेर काम गर्ने र व्यवसाय पनि चलाउने गर्छौँ’, सापकोटा भन्छिन् ।

गरिबीको रेखामुनि रहेका परिवारका लागि स्थानीय स्रोत साधन परिचालन गरी स्थानीयस्तरमै उद्यमशीलतमा विकासमार्फत रोजगारी सिर्जना गर्न युवा इलम कार्यक्रम र उपप्रमुख महिला उद्यमशील कार्यक्रम सञ्चालन गरिएको हो । उद्यम विकासका लागि उद्यमीको माग, बजार सम्भाव्यता, स्थानीय कच्चा पदार्थ र सम्भाव्यता हेरेर कार्यक्रम तय गरिएको हो ।

उपमहानगरपालिकाले नगर प्रमुख युवा इलम कार्यक्रममार्फत करिब एक हजार जनालाई र उपप्रमुख महिला उद्यमशील कार्यक्रममार्फत करिब तीन हजार जनालाई सीपमूलक÷ उद्यम विकास तालिम प्रदान गरेको उपमहानगरपालिका, उद्योग वाणिज्य तथा पर्यटन प्रवद्र्धन, अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए । उनका अनुसार सीपमूलक तालिम लिएकाहरूलाई उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने उपकरण र औजारसमेत उपलब्ध गराइएको छ । उद्यम तथा व्यवसाय सुरु गर्न चाहनेलाई प्रोजेक्ट बैंक लेखनमा सहयोग गर्ने एवं उपकारण तथा औजार सहयोग गर्ने काम भइरहेका छन् । रोजगारीकै लागि श्रम तथा रोजगार बैंक स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

रोजगारदातासँग समन्वय गरी बेरोजगारलाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले श्रम बैंक पोर्टल ‘बुटवल रोजगार डटकम’ सञ्चालन गरेको हो । रोजगारी चाहने नागरिकले बुटवल रोजगार डटकममा गई आवश्यक रोजगारी, सेवासुविधा तथा सबै विवरणसहित अनलाइन फाराम भर्न सक्ने छन् भने रोजगारदाताले यो बैंकमार्फत आवश्यक जनशक्ति व्यवस्थापनका लागि फाइदा लिन सक्नेछन् ।

उपमहानगरका महिला शिल्पकला तालिम केन्द्र, सिकाइ केन्द्र्र, नागरिक सचेतना केन्द्र्र, टोल विकास संस्था, आमा समूह तथा अन्य सामुदायिक सङ्घसंस्थामार्फत समुदायस्तरमा करिब १७ हजारलाई विभिन्न प्रकारका सीपमूलक तथा आयमूलक तालिम प्रदान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स