काभ्रेपलाञ्चोकमा दुई हजार ७७३ जनाद्वारा उम्मेदवारी

बनेपा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरी दुई हजार ७७३ जनाले मनोनयन दर्ता गराएका छन् ।

नेकपा (एमाले) एक्लैले स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेको छ भने गठबन्धनबाट स्थानीय तहमा भागबण्डा गरी मनोनयन दर्ता गरिएको छ ।

वडामा भने अनुकूलताका आधारमा गठबन्धन गरेको दलहरूले जनाएका छन् । बनेपा नगरपालिका प्रमुखमा १० तथा उपप्रमुखमा आठ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिका प्रमुख पदमा ११-११ जनाले मनोनयन दर्ता गराएका छन् । बनेपाको उपप्रमुखमा तीन र मण्डनदेउपुरको उपप्रमुखमा चार जनाले मनोनयन दर्ता गराएका छन् ।

धुलिखेल नगरपालिका प्रमुखमा १० र उपप्रमुखमा ६, पाँचखाल नगरपालिका प्रमुखमा ६, उपप्रमुखमा पाँच र नमोबुद्ध नगरपालिका प्रमुखमा चार र उपप्रमुखमा तीन जनाले मनोनयन दर्ता गराएका छन् ।

कोशीपारिस्थित भुम्लु गाउँपालिका अध्यक्षमा आठ र डाँडापारिस्थित खानीखोला गाउँपालिका अध्यक्षमा सात जनाको मनोनयन दर्ता भएको छ ।

उपाध्यक्षमा चार–चार जनाले उम्मेदवारी दिनुभएको छ । यस्तै रोशी, चौंरीदेउराली, तेमाल र बेथानचोक गाउँपालिका अध्यक्षमा पाँच-पाँच जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा चार–चार जना, बेथानचोकमा आठ र चौंरीदेउरालीमा दुई जनाले मनोनयन दर्ता गराएका छन् ।

महाभारत गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा ६७०, सदस्यमा एक हजार ३७, महिला सदस्यमा ४८७ र दलित महिला सदस्यमा ४३० जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकमा दुई हजार ११४ जनाको मनोनयन दर्ता

स्थानीय निर्वाचनका लागि जिल्लामा दुई हजार ११४ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २५ राजनीतिक दल चुनावी मैदानमा छन् ।

प्रमुख-अध्यक्षमा ९६, उपप्रमुख-उपाध्यक्षमा ६९ तथा १०३ वडाको वडाध्यक्षमा ४८४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै २०६ खुला सदस्यमा ७७४, महिला र दलित महिला सदस्यमा क्रमशः ३६४ र २२७ जनाले उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स