स्थानीय निर्वाचनमा उम्मेदवार बन्न कति तिनुपर्छ शुल्क तथा धरौटी ?

काठमाडौं । निर्वाचन आयोगले यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि शुल्क तिर्नु नपर्ने तर धरौटी भने राख्नु पर्ने व्यवस्था गरेको छ । आयोगले तोकेको धरौटीमा पनि महिला तथा दलित समुदायको व्यक्तिले मनोनयन दर्ता गराउँदा आयोगले तोकेको धरौटीको ५० प्रतिशतमात्र राखे पुग्ने छ । आयोगले उम्मेदवारी दर्ताका लागि कुनै पनि शुल्क तोकेको छैन । तर, उम्मेदवारले धरौटी रकम भने जम्मा गर्नुपर्ने हुन्छ ।

यहि वैशाख ३० गते हुने स्थानीय निर्वाचने उम्मेदवारले मनोनयन दर्ता शुल्क नभई धरौटी रकम बुझाउनुपर्ने व्यवस्था गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । ‘मनोनयन दर्ता गर्दा कुनै शुल्क लाग्दैन । स्थानीय तह निर्वाचन निर्देशिकाले मनोनयन पत्र दर्ता गर्दा धरौटी रकम बुझाउनुपर्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘जुन रकम निर्वाचन परिणाम आइसकेपछि फिर्ता हुन्छ ।’

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३६ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा धरौटी रकम बुझाउनु पर्ने व्यवस्था गरिएको छ । निर्देशिकामा यस्तो धरौटी रकममा समेत महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिले छुट पाउने व्यवस्था छ ।

निर्देशिकाको दफा ३६ मै महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न व्यक्तिको हकमा धरौटी रकमको ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । यस आधारमा महिला र दलित समुदायको व्यक्तिले मनोनयन दर्ता गराउँदा ५० प्रतिशतमात्रै धरौटी रकम जम्मा गरे पुग्नेछ ।

उम्मेदवारले तिर्नुपर्ने धरौटीको यस्तो व्यवस्था
महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउने व्यक्तिले १ हजार ५ सय रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । त्यस्तै, वडा अध्यक्ष पदका लागि १ हजार रुपैयाँ र वडा सदस्य पदका लागि मनोनयन गराउनेले ५ सय रुपैयाँ धरौटी रकम बुझाउनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।

उम्मेदवारले कुन अवस्थामा पाउँछन् धरौटी फिर्ता ?

निर्देशिकाले निर्वाचनमा धरौटीबापत जम्मा भएको रकम मत परिणाम आइसकेपछि निर्वाचत अधिकृतको कार्यालयले फिर्ता गर्नेछ । तर, त्यसका लागि केही सर्तहरू राखिएका छन् । निर्वाचनमा विजयी र पराजित भएपनि कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको धरौटी रकम फिर्ता हुनेछ ।

निर्देशिकाले निर्वाचनमा खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको भने धरौटी फिर्ता नहुने व्यवस्था गरेको छ । आयोगले त्यस्तो धरौटीबापत जम्मा भएको रकम आयोगको सञ्चित कोषमा राख्ने व्यवस्था मिलाएको छ ।

भोलि र पर्सी निर्वाचन मनोनयन दर्ता

राजनीतिक दलहरूले भोलि आइतबार र पर्सी सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्दैछ । देशभर ७५३ वटै स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार बिहान १० देखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतले उम्मेदवारको मनोनयन दर्ता गराउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स