मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिने

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ ।

पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

गत असारमा बाढीका कारण पानी अवरुद्ध भएपछि पनि विभिन्न स्थानमा पाइप परीक्षण गरिएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताए । उनले भने, ‘धेरै ठाउँमा पानी आएपछि नै परीक्षण हुनेछ ।’ वितरण पाइपको ४१० किमी नयाँ र ६०० किमी पाइप पुरानोबाट नै पानी वितरण हुनेछ । नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तीलगंगा, चक्रपथ, बबरमहल, कोटेश्वर, नरेफाँटलगायतका स्थान छन् ।

असारदेखियता यी ठाउँमा ट्यांकरको पानी र बाग्मतीको पानीले पाइप परीक्षण गरिएको थियो । उनले भने, ‘पानी काठमाडौं नआउँदा पनि हामीले परीक्षण निरन्तर गरिरहेका थियौं ।’

विगतमा पानी पर्याप्त नभएका कारणले परीक्षण हुन बाँकी ठाउँमा अहिले परीक्षण गरिने भएको छ । सुन्दरीजलमा आउने पानीमध्ये केही पुरानो पाइप, नयाँ पाइप र केही केही पानी परीक्षणका लागि छुट्याइने भएको छ ।

हाल तीन करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट र १० करोड लिटर पानी पुरानो पाइपबाट परीक्षण गरिने उपनिर्देशक श्रेष्ठले बताए ।

दैनिक दुई करोड लिटर पानी भने परीक्षणका लागि प्रयोग हुनेछ । उनले भने, ‘केयुकेएलले पानी वितरण गरिरहँदा हामी पाइप परीक्षणमा लाग्नेछौं ।’ बाँकी रहेका सबै स्थानमा पाइपको परीक्षण गर्न झण्डै एक वर्ष लाग्ने निर्देशनालयले जनाएको छ । यो अवधिमा निर्देशनालयले पाइपको परीक्षण गर्दै पानी वितरण गर्न सकिने भएमा नयाँमार्फत वितरण हुनेछ ।

निर्देशनालयले पानी वितरणका लागि जम्मा १० ट्यांकी निर्माणको जिम्मेवारी लिएको थियो । तिमध्ये अहिलेसम्म नौ निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् ।

भक्तपुरको कटुञ्जेमा भने जग्गा विवादका कारण केही ढिला मात्रै सम्पन्न भएको थियो । हाल सो ट्यांकी सम्पन्न भएर परीक्षणका क्रममा रहेको उपनिर्देशक श्रेष्ठले बताए ।

मेलम्चीको पानी काठमाडौंवासीको घरघरमा पु¥याउनका लागि तीन कार्यालयको फरकफरक भूमिका रहेको छ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकस्थित आयोजनास्थलमा सुरुङ, हेडवर्कलगायतका संरचना निर्माण गरेको थियो । समितिले नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो ।

निर्देशनालयले सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घरघरसम्म पुगाउन आवश्यक संरचना निर्माण गरिसकेको छ । सतहत्तर किमी लम्बाइको बल्लब डिस्ट्रिब्युसन सिस्टममार्फत पानी १० ठाउँका ट्यांकीमा पुग्छ । ती ट्याङ्कीमार्फत नै पानी घरघरमा पुग्नेगरी संरचना निर्माण गरिएको छ । वितरण पाइपमार्फत उपभोक्ताका घरमा पानी जानेछ ।

काठमाडौं उपत्यकामा खानेपानीको समस्या दशकौं पहिले सुरु भएको थियो । क्रमिकरुपमा जनसङ्ख्या बढ्दै जाँदा खानेपानीको माग बढे पनि यहाँको स्रोतले धान्न सकेन । केही दशकयता मुख्य शहरमा ट्यांकरमार्फत नै पानीको अभाव पूर्ति हुँदै आएको थियो ।

निर्देशनालयले निर्माण गरेका ट्यांकी काठमाडौंमा लाजिम्पाट, बाँसबारी, पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् ।

समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७/१७ करोड गरी दैनिक जम्मा ५१ करोड लिटर उपत्यकामा ल्याउन सकिन्छ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ ।

यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको भए पनि पूरा सकेको छैन ।

सरकारले दुई दशक पहिले सुरु गरेको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन बाँकी भए पनि गत वर्ष नै काठमाडौँ उपत्यकामा पानी ल्याइएको थियो ।

फागुनबाट पानी ल्याउन सुरु गरिएकामा असारमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । अहिले पुनः पानी काठमाडौं ल्याउन पथान्तरण गरिएको छ । आइतबारसम्म सुन्दरीजल पानी आइपुग्ने अपेक्षा गरिएको छ । नियमितरुपमा पानी उपलब्ध हुँदा यहाँको खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स