खानेपानी पाइपलाइनमा क्षति नपुग्ने गरी निर्देशनालयसँग समन्वय गरी काम गर्न आग्रह

काठमाडौं । उपत्यका खानेपानी लिमिटेड (kukl) , आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले खानेपानी पाइपलाइनमा क्षति नपुग्ने गरी सडक तथा ढल मर्मत एवम् विस्तार, विद्युत तथा टेलिफोन लाइन भूमिगत लगायतका कार्य गर्न सम्बद्ध निकायहरू (तेस्रो पक्ष) सँग आग्रह गरेको छ ।

निर्देशनालयले सडक विभाग, नेपाल विद्युत प्राधिकरण, चक्रपथ विस्तार आयोजना, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महागरपालिका, ललितपुर महानगरपालिका, चःमति जग्गा एकीकरण आयोजना र सम्बद्ध अन्य संघ संस्थाहरूसँग त्यस्तो आग्रह गरेको हो ।

साथै, खानेपानी पाइपलाइन विच्छ्याइएका क्षेत्रमा सडक तथा ढल निर्माण एवम् मर्मत र भूमिगत विद्युत लाइनसम्बन्धी कार्य शुरू गर्नुभन्दा अगाडि निर्देशनालयसँग आवश्यक समन्वय गर्न र एउटै ट्रेन्च तथा एउटै लेबलमा पाइप र पावरलाइन तथा अन्य संरचना नराखिदिन समेत सम्बद्ध निकायहरूसँग आग्रह गरिएको छ ।

खानेपानी पाइपलाइन विच्छ्याउनुभन्दा अगाडि भएका सहमति र सम्झौता विपरित ती निकायहरूले निर्देशनालयसँग समन्वय नगरी सडक तथा ढल मर्मत एवम् विस्तार र विद्युत लाइन भूमिगत लगायतका कार्य गर्दा हालसम्म करिव २७ करोड ४७ लाख बराबरका खानेपानी पाइपलाइनमा क्षति भएको छ ।

कतिपय निकायबाट क्षति भई जानकारी नदिइएका र पाइपलाइन परिक्षणका क्रममा मात्र क्षति भएको थाहा पाइएका क्षतिग्रस्त पाइपलाइनहरूको विवरण आउने क्रम भने जारी नै रहेको छ ।

निर्देशनालयको आग्रहका बाबजूद पनि यी सडक, ढल तथा भूमिगत विद्युत लाइन निर्माण सम्बन्धी कार्य गर्दा भरखरै विच्छ्याइएका खानेपानीका पाइपलाइनमा भएका क्षति र स्थानको जानकारी निर्देशनालयलाई नदिने क्रम पनि बढ्दै गएको छ ।

निर्देशनालयबाट हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भइरहेका खानेपानी पाइपलाइन परिक्षणका क्रममा विगतमा क्षति भएका पाइपलाइन धमाधम फेला परिरहेका छन् ।

खानेपानी पाइपलाइन बिच्छ्याउने कार्य सम्पन्न भए पनि मेलम्ची खानेपानी आयोजनाबाट आएको पानी परिक्षण गरेपछि मात्र पाइपलाइन उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गर्नुपर्ने भएका कारण सन् २०१४ यता निर्माण सम्पन्न भएका पाइपलाइनहरू हस्तान्तरण हुन सकेका छैनन् । यसले गर्दा क्षति पुगेका पाइपलाइनको पुनर्निर्माणमा समस्या देखापरेको छ ।

तसर्थ, सडक, ढल र भूमिगत विद्युत लाइन निर्माण लगायतका कार्य गर्दा यस निर्देशनालय मा सम्पर्क गर्न र पाइपलाइन तथा जडित संरचनाहरूको पर्याप्त सुरक्षाका लागि सावधानीका साथै आवश्यक उपायहरू अवलम्बन गर्न र कथम्कदाचित् पाइपलाइन क्षति भएमा पुननिर्माणको सुनिश्चितता गरेर मात्र काम गर्न सम्बद्ध सबै निकायहरूलाई आयोजना कार्यान्वयन निर्देशनालयले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स