तरकारी मूल्य डेढ सय प्रतिशतसम्म बढाएर बेचे खुद्रा व्यापारीले, नियमन निकाय खोई ?

काठमाडौं । यो साता खुद्रा बजारमा तरकारीको मूल्य आँकासिएको छ । विशेष गरेर कालिमाटी थोक बजारमा औसतमा तरकरीको मुल्य १ सय रुपैयाँसम्म पर्ने तथ्यांकले देखाएपनि उपभोक्ता भने १२५ प्रतिशतसम्म बढी मूल्य तिरेर तरकारी खान बाध्य छन् ।

आज मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा १२० रुपैयाँमा पाइने भिण्डी सामान्य तरकारी पसलमा प्रतिकेजी २ सय रुपैयाँ पर्छ । ५० रुपैयाामा पाइने केराउ १ सयदेखि १२० रुपैयाँसम्म, पर्वल ८० पर्ने टाटे सिमीको १४० रुपैयाँ, १०० रुपैयाँ पर्ने घिउ सिमी २ सय रुपैयाँ तथा १ सय रुपैयाँ पर्ने पर्वलको मूल्य २ सय रुपैयाँ लिएर खुद्रा पसलेहरूले आम उपभोक्तालाई ठगिरहेका छन् ।

खुद्रा पसलमा तरकारी किन्नै पर्ने आम उपभोक्ताको बाध्यता भएको कारण यस्ता व्यापारीले लुटिरहेका छन् । काठमाडौंको हरेक स्थानका खुद्रा पसलमा तरकारीको मूल्य अचाक्ली वृद्धि भएको छ ।

कालिमाटी तरकारी बजारबाट बाहिर निष्केपछि तरकारीको मूल्य सामान्य अवस्था पनि दोब्बर हुन्छ । अहिले त झन पेट्रोलको मूल्य उच्च विन्दुमा पुगेको छ । ढुवानी भाडा बढेको छ । यस्तो अवस्थामा खुद्रा व्यापारीको वहाना नै बनेको छ तरकारी तथा फलफूल छोइसक्नु छैन ।

हुन त खुद्रा व्यापारीहरूको यो अभ्यास अहिलेको मात्र होइन, उनीहरूले जहिले पनि यसरी नै आम उपभोक्तालाई परल मूल्यभन्दा शतप्रतिशतभन्दा बढीले मूल्य बढाएर तरकारी बिक्री गर्दै आएका छन् । अहिले सामान्य आम्दानी भएको परिवारले तरकारी किनेर खानै नसक्ने अवस्था सिर्जना भएको छ ।

काठमाडौं महानगरपालिका हाँडीगाउँ बस्ने रमा बस्यालले भनिन् ‘ तरकारी मूल्य अचाक्ली बढेको छ, किनेर खानै नसक्ने अवस्था आइसक्यो । हामी जस्ता थोरै कमाइ भएका मानिसलाई अव अझ हातमुख जोर्न समस्या पर्ने भयो ।’

‘श्रीमानको मजदुरी कामले त्यति निरन्तरता पाउन सकेको छैन, हामीलाई यो धर्तीमा गरेर खान निकै गाह्रो भइसक्यो,’ उनले थपिन् ‘त्यसो त एक जनाको कमाइले काठमाडौंमा बाच्न सहज छ दै छैन, त्यसमाथि पनि निरन्तर काम नहुँदा चूलो बाल्न साह्रै गाह्रो भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता हरि पंगेनीले चैत लागेपछि तरकारीको मूल्य वृद्धि भएको बताए । ‘कार्तिक र चैतमा तरकारीको मूल्य बढ्दो रहेछ, उनले भने ‘बढेको तरकारीको मूल्य उपभोक्ताको चूलोसम्म पुग्दा डेढ सय प्रतिशतसम्मले वृद्धि गरेर खुद्रा व्यापारीले बिक्री गर्ने गरेका छन् ।’ त्यो हामीलाई पनि थाहा छ, हरेक पसलमा विभाग पुग्न नसकेपनि केही स्थानमा पुगेर मूल्य बढाएको बारे सचेत गराउने छौं । आधासम्म बढी लिनु त तरकारी जस्तो वस्तुमा ठिक्कै पनि हो, तर किलो मै डेढसय प्रतिशत बढी लिनु चाहिँ अचाक्ली हो । विभाग यसको नियन्त्रणमा लाग्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स