विराटनगर । सुनसरीको इटहरीमा गए राति बम विस्फोट भएको छ ।
उक्त बम विस्फोटमा परि इटहरी उपमहानगरपालिका–२, हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने रबिन थापा र लमजुङ, ढोडेनीका शेरजंग गुरुङ घाइते भएका छन् ।
बम राति साढे १० बजेतिर विस्फोट भएको र थापाको आँखा तथा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
थापाको विराटनगर स्थित आँखा अस्पताल र गुरुङको धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा ‘कफन अवधारणा’ र हिमाल सुरक्षा परिषद्को पर्चा फेला परेको प्रहरीले जनाएको छ । उक्त संगठनले गएको फागुन १५ गते विज्ञप्ति प्रकाशित गरी सशस्त्र युद्ध सुरु गरेको जनाएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।