ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र

मनाङ । हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिंदै अलपत्र परेको छ । सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिंदै अलपत्र परेको हो ।

हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मस्र्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौंले २०७५ मङ्सिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो ।

म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन । यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो ।

मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलका वडाध्यक्ष कृष्ण लामाका अनुसार पुल निर्माण थालेको पाँच वर्ष कटिसकेको छ । डेढ वर्षमा सक्नुपर्ने पुलको काम अहिलेसम्म पनि सम्पन्न नभएको वडाध्यक्ष लामाले बताए ।

गत असार पहिलो साता मस्र्याङ्दीमा आएको बाढीले छेउको जग बगाउँदा पुल कोल्टिँदा जोखिमपूर्ण रुपबाट स्थानीयले हिँड्नुपर्ने बाध्यता रहेको छ ।

उक्त पुल बन्ने हो भने १० मिनेटमै गाउँ पुग्न सकिन्छ तर पुल बनाउने भनी निर्माण थालेर अलपत्र अवस्थामा छाड्दा यहाँका बासिन्दा निराश बनेका छन् ।

निर्माणाधीन अवस्थामा रहेको पुल नखस्दै तथा बाङ्गिएको समयमा निर्माण कम्पनीलाई पुल खस्न लाग्यो भनेर खबर गरे पनि अटेरी गर्दा पुल सबै मस्र्याङ्दीमा खसेको बताइएको छ ।

भाँचिएर खसेको पुल सोझो बनाइनुका साथै स्टिल जडान गरिएका छन् तर, डेढ वर्षअघिदेखि उक्त पुलको निर्माण सम्पन्नतर्फ अघि नबढेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर प्रह्लाद लामिछानेले बताए । पुल निर्माणका लागि यही चैत ३० सम्म म्याद थपिएको उनले जानकारी दिए ।

इन्जिनियर लामिछानेले भने, ‘चैत ३० भित्र पुल निर्माणकार्य नसकिए कारबाही गर्छौं भनेर पत्र पठाएका छौं, कन्ट्याक्टरले असार मसान्तसम्म सकेर ह्यान्डओभर (हस्तान्तरण) गर्ने पत्र पठाएको छ ।’

मनाङ ङिस्याङ गाउँपालिकाको वडा नं ४ र ३ जोड्न निर्माणाधीन ‘स्टिल गर्डर ब्रिज’ को स्टिलका सबै ‘मेम्बर’ जोडेर चार वटा मात्रै बाँकी छँदा पुल मस्र्याङ्दीमा खसेको थियो ।

ठेकेदार कम्पनीले भ्याटबाहेक चार करोड ५१ हजारमा पुल बनाउने जिम्मा लिएको हो । पैतीस मिटर लम्बाइ र साढे चार मिटर चौडाइको पुल खस्दा कम्तीमा ६० लाख क्षति पुगेको अनुमान गरिएको थियो ।

पुल समयमै निर्माण नगर्दा पुल मस्र्याङ्दीमा खसेको गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । निर्माण कम्पनीले भने चिसो, हिमपात, कोभिडलगायत कारण देखाउँदै आएको छ ।

पुल निर्माणकार्य अलत्रि देखिएपछि ध्यानाकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । नेपाली सेनाले २०६९ सालमा बेंसीसहर–चामे सडकको ट्र्याक खोलेपछि माथिल्लो मनाङमा पनि सडक र पुल निर्माण थालिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स