भक्तपुरको तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेमा नमूना संकलन र निगरानी

काभ्रेपलाञ्चोक । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना संकलन र निगरानीलाई निरन्तरता दिइएको छ ।

महिनाअघि सङ्घीय राजधानी काठमाडौंमा बर्डफ्लु भेटिएलगत्तै पूर्वीनाकाका रुपमा रहेको यो जिल्लामा उच्च सतर्कता अपनाउन विभिन्न गतिविधि गर्दै आइएको छ ।

जिल्लास्तरीय प्राविधिक समितिको बैठकले सबै स्थानीय तहलाई पशुपक्षीपालक कृषक तथा व्यवसायीलाई सजगता अपनाउन यससम्बन्धी विविध गतिविधि गर्न आग्रह गरेको छ ।

‘सबै स्थानीय तहमा निगरानीका कामलाई गम्भीरतापूर्वक लाग्न आग्रह गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने ।

उनका अनुसार काठमाडौं र छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि उपत्यकाको पूर्वी सीमानाका साँगामा रात्रिकालीन अवस्थामा परीक्षण व्यवस्थापनका लागि थप जनशक्ति व्यवस्थित गरी उच्च सतर्कता अपनाइएको छ ।

साँगामा चौबिसै घण्टा पशुपक्षीजन्य आयात–निर्यातमा सतर्कता अपनाउँदै नमूना संकलन तथा निगरानी बढाइएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

साथै, सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल गर्न स्थानीय तहलाई समन्वय गर्न आग्रह गरिएको केन्द्रका प्रमुख राजकुमार हुमागाईंले बताए ।

हुमागाईंका अनुसार जिल्लाको दक्षिण–पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मंगलटारमा पक्षीजन्यको जाँच केन्द्र स्थापना गरिएको छ भने जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा निगरानी अपनाइएको छ ।

जिल्लाको विभिन्न स्थानमा बर्डफ्लुको नमूना संकलन तथा परीक्षण गरिएकामा आइतबारसम्मको परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएको केन्द्रले जनाएको छ ।

केन्द्रले निगरानी बढाउँदै नमूना संकलन तथा परीक्षणलाई निरन्तरता दिइरहेको हुमागाईंले बताए ।

जिल्लाको १३ स्थानीय तहमध्ये बनेपा र पनौती नगरपालिकाले सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल र सचेतना कार्यक्रम गरिसकेका छन् ।

गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु सङ्क्रमण त्यसयता चितवन र राजधानी काठमाडौं तथा उपत्यकाको भक्तपुरमा समेत देखिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स