अमेरिकाद्वारा नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्ने प्रतिवद्धता

काठमाडौं । प्रतिनिधसभाको आइतवारको बैंठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन भएसंगै अमेरिकाले नेपाल र नेपालीको लोकतान्त्रिक मूल्यमान्यता तथा दिर्घकालिन आर्थिक समृद्धिलाई निरन्तर रुपमा समर्थन गर्ने बताएको छ ।

काठमाडौंस्थित अमेरिकी दुतावसले आइतवार बेलुकी विज्ञप्ति जारी गर्दै सार्वभौम लोकतान्त्रिक राष्ट्रको संसदले एमसिसी अनुमोदन गरेकाले नेपाली जनताका लागि थप रोजगारी सिर्जना हुने र विद्युत सेवाको आपूर्तिमा वृद्धि हुनुको साथै ढुवानी खर्च समेत घट्ने जनाएको छ ।

एमसिसीले झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता विश्वभर नै गरिबी निवारणमा मद्दत गरेकोछ । आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमसीसी नेपाल कम्प्याक्ट संसद्‌को अनुमोदनका सम्बन्धमा अमेरिकी दुतावसको विज्ञप्ति:

५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा थियो । हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्‌को आजको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ ।

झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेका छन् । आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्दछ ।

२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो । अब यस पाँच९वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ ।

यो वर्ष नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ । अमेरिका र नेपालबिचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ । हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौँ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स