एमसीसीको विषयमा आज के हुन्छ संसदमा, यस्तो छ राजनीतिक जोड घटाउ

काठमाडौं । प्रतिनिधिसभामा आज अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल हुँदैछ । आज टेबल भएर संसदी प्रक्रियामा प्रवेश गर्ने एमसीसी सम्झौतामा सत्तापक्षीय दलहरूबीच जोड घटाउ शुरु भएको छ । सत्तापक्षमा देखिएको मतान्तरले गठबन्धनसमेत भत्किन सक्ने संकेतसम्म देखिएको छ ।

प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्दैछ । उक्त बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल गर्ने तयारी भइरहेको छ ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्ने प्रस्ताव गरेको छ । अन्य सरकारमा सहभागी दलका नेताबीच पनि एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबुल गर्ने समझदारी यसअघि नै बनेको छ ।

हाल प्रतिनिधिसभामा सभामुखसहित २७१ सदस्य छन् । एकजना स्वतन्त्र सांसदसहित सभामा ९ दलको प्रतिनिधित्व छ । सबैभन्दा ठूलो दल नेकपा एमालेसँग ९८ सांसद छन् भने कांग्रेससँग ६३, माओवादीसँग सभामुखसहित ४९, नेकपा एकीकृत समाजवादीसँग २३, जनता समाजवादीसँग २१, लोकतान्त्रिक समाजवादीसँग १३ सांसद छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राप्रपासँग एक–एक जना सांसद छन् । स्वतन्त्र सांसद छक्कबहादुर लामा माओवादी निकट मानिन्छन् ।

एमसीसी सम्झौता संसद्मा उपस्थित सदस्यमध्येको सामान्य बहुमतबाट पारित गर्नुपर्ने हुन्छ । २७१ नै सदस्य उपस्थित भएमा बहुमतबाट पारित हुन १३६ मत आवश्यक पर्छ ।

कांग्रेस सांसद विजयकुमार गच्छदार निलम्बनमा छन् । मोहम्मद अफताव आलम जेलमा छन् । त्यस्तै जसपाका रेशम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा परेका छन् । निलम्बन र जेलमा रहेका चार सांसदलाई घटाउँदा सांसद उपस्थित हुन सक्ने सांसदको संख्या २६७ हुन्छ । र, त्यसको बहुमत संख्या १३४ जना हुन जान्छ ।

४८ मत रहेको नेकपा माओवादी केन्द्रले एमसीसी टेबल भएमा सरकारमा नैतिकरुपमा बस्न नमिल्ने घोषणा गरिसकेको छ । सरकारले चाहेमा एमसीसी टेबल गर्ने उसको अधिकार भएको र यदि यसो भएमा आफू सरकारबाट बाहिरिने माओवादीले स्पष्ट पारेको छ ।

प्रतिनिधिसभामा २३ भोट रहेको नेकपा एकीकृत समाजवादी माओवादीकै लाइनमा उभिने सम्भावना रहेको अनुमान गरिएको छ । उसले पनि एमालेले जस्तै एमसीसीको पक्ष–विपक्षमा निर्णय लिइसकेको छैन ।

भोट रहेको जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई र बहुमत सांसदहरूको एमसीसीको पक्षमा छन् । तर, उपेन्द्र यादव भने अहिलेसम्म खुलेका छैनन् । उपेन्द्रले पनि सकेसम्म एमसीसीको पक्षमै मतदान गर्ने सम्भावना रहेको छ ।
उपेन्द्र एमसीसीको पक्षमा उभिएनन् भने १९ मध्ये करिब ८ सांसदले एमसीसीको पक्षमा भोट नहाल्ने र ११ जनासम्मले पक्षमा भोट हाल्ने सम्भावना रहेको छ ।

१३ भोट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) भने नेपाली कांग्रेसजस्तै खुलेर एमसीसीको पक्षमा उभिएको छ ।

एक एक सीट रहेका साना तीनवटा दलहरू राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाले एमसीसीको पक्षमा मतदान नगर्ने स्पष्ट पारिसकेका छन् । स्वतन्त्रबाट जितेका सांसद छक्कबहादुर लामाले माओवादीकै लाइन लिने देखिन्छ । यो अवस्थामा साना दल र स्वतन्त्र सांसदको ४ भोट एमसीसीको पक्षमा जाने देखिएको छैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स