साँगामा एक करोडको लागतमा बनेको २४४ मिटर लामो झोलुंगे पुल आजदेखि सञ्चालनमा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ र १० को सिमानामा रहेको झोलुंगे पुल आजदेखि सञ्चालनमा ल्याइएको छ ।

सरकारको कूल एक करोड १६ लाखको लागतमा निर्माण गरिएको २४४ मिटर लामो उक्त पुल उद्घाटन गर्दै सांसद महेश बस्नेतले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनताले राजहंसको भूमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘अब जनताले राजहंसको भूमिका निर्वाह गर्ने बेला आएको छ । राजहंसले पानी मिसाएको दूध पिउँदा पनि दूध र पानी छुट्याएर खान्छ, त्यसैले अब जनताले विकास गर्ने दल कुन हो र विकास नगर्ने दल कुन हो भन्ने छुट्याउने बेला आएको छ ।’

स्थानीय तहको पाँच वर्षको र प्रदेश तथा सङ्घीय सांसदको चारवर्षे अवधिको समीक्षा गर्ने बेला आएको भन्दै उनले यो चार वर्षमा सूर्यविनायक क्षेत्रमा सङ्घीय, प्रदेश र स्थानीय तहका प्रत्येक वडामा एक अर्बको दरले बजेट ल्याएर विकासको काम गरिएको बताए ।

चार वर्ष अगाडिका विद्यालय भवन, सडक, खानेपानी, पुल, सामुदायिक भवन, स्वास्थ्य चौकी कस्तो थियो र अहिले कस्तो भयो भन्नेबारेमा जनताले समीक्षा गर्ने बेला आएको उनको भनाइ थियो ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले झोलुङे्ग पुल बनेपछि हजारौं बासिन्दा पुलमा आएर रमाउने, यहाँबाट ओहोरदोहोर गर्ने गरेको जानकारी दिँदै यो पुल बनेपछी अग्लो महादेव अवलोकन गर्न जान सहज हुनाका साथै आशापुरी र काँक्राबारी जान पनि सजिलो भएको छ ।

यहाँको उकालो बाटो उपत्यका विकास प्राधिकरणको ४० लाखको बजेटले ढलान गरिएको, पदमार्ग बनाउन पर्यटन विकास मन्त्रालयको १२ लाखको बजेटले सिँढी निर्माण गरिएपछि यहाँको रौनक अझै बढेको बताए ।

वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले एक करोड १६ लाखको लागतमा निर्माण गरिएको २४४ मिटर लामो यो पुलले सूर्यविनायकको शिव सर्किटलाई जोड्नाका साथै यहाँको विकासमा कोसेढुङा साबित भएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स