चोभार सुख्खा बन्दरगाह वरिपरी १२ लाख आना मै जग्गा (स्थलगत रिर्पोट)

काठमाडौं । चक्रपथ भित्री क्षेत्रमा आवासका लागि जमिनको अभाव हुँदै गएसँगै चक्रपथ बाहिरको क्षेत्रमा खुला क्षेत्र पाउन मुस्किल भइरहेको छ । विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आएर जमिन किनेर घर बनाउनेको संख्या बढेसँगै जग्गाको अभाव देखिएको हो ।

पछिल्लो समय चक्रपथबाट ५ किलोमिटर दूरीमा रहेको चोभार टौदह क्षेत्रमा घरजग्गाको कारोबार दिनप्रतिदिन बढ्दै गएको छ । बल्खु चक्रपथबाट नजिकैको दूरीमा रहेको यस क्षेत्रमा आवासका लागि आवश्यक भौतिक पूर्वाधारहरू खानेपानी, हस्पिटल,  सडक, विद्युत, विद्यालय, कलेज तथा शान्त वातावरण रहेकाले टौदह क्षेत्रमा घरजग्गा कारोबार बढेको कुमार कार्की बताउँछ ।

२ दशक अघिको तुलनामा अहिले यस क्षेत्र वरिपरीका जग्गा अचाल्की महँगिएका उनी साँची हुन् । २०६० सालसम्म चोभार आसपासका क्षेत्रमा बल्खु–दक्षिणकाली जोड्ने सडक (ईश्वरी राजमार्ग)सँग जोडिएको जग्गा आनको ५, ६ लाख रुपैयाँमा सहजै खरिद गर्न सकिन्थ्यो । अहिले राजमार्गसँग जोडिएको जग्गाको मूल्य बढेर ७०/८० लाख रुपैयाँ तिर्दा पनि पाउँन मुस्किल हुने उनको भनाइ छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ६ अन्तर्गत पर्ने जग्गाको भाउँ बढ्नुमा बाहिरी चक्रपथ, सुख्खा बन्दरगाहा, काठमाडौं–तराई जोड्ने फास्टट्रर्‍याक निर्माण हुनुका साथै बन्दै गरेको तरकारी तथा फलफूल बिक्री केन्द्र रहेको उनको बुझाइ छ ।

‘भूकम्पपछि यस क्षेत्रमा जग्गाको भाउ अझ बढेको छ,’ उनले भने ‘अहिले दैनिक ५/७ समूह तथा व्यक्तिगत रुपमा पनि जग्गा खोज्न आउनेको संख्या बढ्दो छ ।’ यसका साथै बल्खु–हेटौंडा खण्ड हुँदै गुड्ने टाटा सुमो सञ्चालनमा आएपछि पनि यस क्षेत्रमा जग्गाको माग बढ्दै गएको हो ।

पछिल्लो समय चक्रपथ भित्र खरिद बिक्रीका लागि जग्गा उपलब्ध नभएकाले पनि धेरैको रोजाइ बल्खुबाट नजिकै रहेको र सबै सेवा सुविधाले भरिपूर्ण शान्त र सुन्दर यस क्षेत्रमा जग्गाको मूल्य बढ्न सघाएको हो ।

यी कारणले जग्गाको मूल्य बढ्यो

बाहिरी चक्रपथको चर्चासँगै ५, ६ लाख आनाको जग्गा ९, १० लाख रुपैयाँमा खरिद बिक्री हुन थाल्यो । त्यसपछि चोभार खण्ड हुँदै मकवानपुर, बारा, पर्सा, रौटहट, सलार्हीलगायतका टाटा सुमो सञ्चालनमा आए । ती जिल्लाबाट बसाईँ सरेर आउनेहरूको रोजाइमा पनि चोभार टौदह क्षेत्र पर्न थाल्यो । जसले गर्दा जग्गाको खरिद बिक्री बढ्न थाल्यो र जग्गाको मूल्य पनि बढ्दै गयो ।

साथै, भूकम्पले पनि चोभार क्षेत्रको जग्गा महँगिएको उनको बुझाइ थियो । भूकम्प पछि धेरै मान्छेको रोजाइमा खुल्ला क्षेत्र पर्न थाल्यो । ७२ सालसम्म चोभारमा अहिले जस्तो बाक्लो बस्ती बसिसकेको थिएन । खुल्ला क्षेत्र देखेर आवासका लागि घर, घडेरी खरिद गर्ने बाक्लिदै गए ।

पछिल्लो समय सुख्खा बन्दरगाहा, काठमाडौं–तराई जोड्ने फास्टट्रर्‍याक, साथै तरकारी तथा फलफूल बिक्री केन्द्र निर्माण हुँदा जग्गा खरिद गर्नेको ओइरो लाग्दा मूल्य बढेको स्थानीयको भनाइ छ ।

१२ देखि ८० लाख आनामा जग्गा

पछिल्लो समय यस क्षेत्रमा खरिद बिक्रीका लागि जग्गाको अभाव हुँदै गएको काठमाडौं रियल स्टेट एण्ड कन्स्ट्रक्सनका सञ्चालक जयराम कार्की बताउँछन् । काठमाडौं उपत्यका छिर्ने वैकल्पिक बाटो र आवासका लागि उपयुक्त पूर्वाधार रहेकाले यो क्षेत्रमा जग्गा बिक्री गर्ने भन्दा पनि खरिद गर्न चहाने धेरै रहेको उनले दावी छ ।

‘बिक्रीका लागि जग्गा पाउँनै मुस्किल छ । कसैलाई व्यवहारिक समस्या पर्यो भने मात्र जग्गा बिक्री गर्छन,’ कार्कीले भने, ‘खाली जग्गै नभएकाले पनि मूल्य बढेको छ ।’

चोभार–टौदह–दक्षिणकाली मुख्य सडक जोडिएका जग्गा प्रति आना ८० लाख रुपैयाँ दिन्छु भन्दा पनि पाउन मुस्किल भएको उनले बताए । उनका अनुसार ४ फिटको बाटो र राजकुलोले छोएको जग्गा भने १२ देखि १५ लाख रुपैयाँ प्रति आनासम्म किन बेच भइरहेको छ ।

कीर्तिपुर मूख्यगरी टौदह, पाण्डे छाप, थापागाउँ, खत्रीछाप, चारघरे भूतखेल, बोसन खोलालगायत क्षेत्रमा जग्गाको कारोबार भइरहेको जग्गा व्यवसायी मधुकर बुढाथोकीले बताए ।

बल्खु दक्षिणकाली मार्ग (ईश्वरी राजमार्ग)सँग जोडिएको भित्री बाटो (२० फिट)मा पर्ने चारघरेमा २५ देखि ३० लाख, पाण्डे छाप तथा थापागाउँमा २५ देखि २७ लाख, खत्रीछापमा २६ देखि ३० लाख र भूतखेलमा २५ देखि ३० लाख रुपैयाँ प्रति आना जग्गा बिक्री भइरहेको छ । यी स्थानमा १३ फिटको बाटोमा १८ देखि २५ लाख रुपैयाँ र राजकुलो भएको स्थानमा १२ देखि १८ लाख रुपैयाँ प्रति आना जग्गा कारोबार भइरहेको उनले बताए ।

टौदहको मूख्य सडक छोएको जग्गा ७० देखि ८० लाख रुपैयाँसम्म कारोबार हुने अर्का जग्गा व्यवसायी राम खड्का बताउँछन् । टौदह क्षेत्रमा २० फिट बाटो छोएका जग्गा २४ देखि ३० लाख, १३ फिटको बाटो भएको जग्गा १८ देखि २० लाख र ४ फिट तथा राजकूलो छोएको जग्गा १६ देखि १८ लाख रुपैयाँसम्म बिक्री भइरहेको छ ।

त्यस्तै बोसन खोला क्षेत्र १३ फिटको बाटो भएको स्थानमा १२ देखि १५ लाख रुपैयाँमा प्रति आना जग्गा किन बेच भइरहेको जग्गा व्यवसायीहरू बताउँछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स