काठमाडौं । पर्यटन बोर्डका निलम्बित प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित ९ जनाविरुद्ध सर्वोच्च अदालतमा हालेका छन् । बोर्डका ‘निलम्बित’ सीईओ रेग्मीले आलेसहित सचिव महेश्वर न्यौपानेलगायतलाई ‘मानहानी’ भएको भन्दै मुद्दा हालेका हुन् ।
अदालतले रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपनि मन्त्री र सचिवसहित अन्य व्यक्तिहरू अदालतको आदेश विपरित गएर हटाउन लागेको उनको आरोप छ ।
सर्वोच्चले पुस १४ गते रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । अदालतमा विचाराधीन रहेको विषयमा आफूलाई सरकारले स्पष्टीकरण सोधेको र त्यस विषयको जवाफ आफूले नदिएको उनले उजुरी पत्रमा लेखेका छन् । रेग्मीको विषयमा छानिबन प्रतिवेदन तयार पारी माघ २० गते मन्त्रीसमेत पर्यटन बोर्ड सञ्चालक समितिले ७ दिनको समय दिइ स्पष्टीकरण दिन भनेका थिए ।
यो निर्णयले अदालतको आदेश अवज्ञा गरेको रेग्मीको ठहर छ । डेढ महिना अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कर्मचारीमाथि हातपात गरेपछि रेग्मी निकै चर्चामा छन् । उनको व्यवहार र प्रवृत्तिलाई मन्त्री आलेले साढेको संज्ञा दिएका छन् ।
रेग्मीले सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष तथा छानविन समितिका संयोजक चन्द्र रिजालसहित अन्य सदस्य र पर्यटन विभागका महानिर्देशक तथा आमन्त्रित सदस्य तारानाथ अधिकारीलगायत ९ जनाविरुद्ध मानहानी र अवहेलनाको मुद्दा दायर गरेका छन् ।