काडमाडौं । कैलालीको टीकापुर नगरपालिका–९ मा रहेको सत्ती भन्सार कार्यालयको परिसरको एक भाग बरामद गरिएका मोटरसाइकलले भरिएको छ । भन्सार कार्यालयले वर्षौंदेखि बरामद गरिएका मोटरसाइकल लिलाम गर्न नसक्दा भन्सार कार्यालयको परिसर मोटरसाइकलले भरिएको हो ।
भन्सार कार्यालयमा अहिले ५०० भन्दा बढी मोटरसाइकल थन्किएका छन् । कार्यालयले मुख्य भन्सार कार्यालय स्थापना भएदेखि नै नियमविपरीत सञ्चालनमा आएका मोटरसाइकलको लिलाम प्रक्रियाबाट बिक्री गर्नुपर्ने भए पनि भन्सारले मोटरसाइकलको लिलाम प्रक्रिया सुरु गर्दै आएको बताउँदै आएको छ, तर भन्सारले ती मोटरसाइकल बिक्रीका लागि कुनै पहल गर्न नसकेको गुनासो पटक–पटक आउने गरेको छ ।
कार्यालयका प्रमुख विमलकुमार शाहले मोटरसाइकलको लिलाम प्रक्रिया धेरै लामो र झन्झटिलो रहेको भन्दै त्यसको समाधानका लागि भन्सार कार्यालय गम्भीर रहेको बताए । “हामीलाई पनि त्यो मोटरसाइकल लिलाम गर्न सकेको भए एउटा आनन्द हुने थियो । त्यसको प्रक्रिया नै लामो हुने र प्रक्रिया पुर्याउँदै कोरोनाको सङ्क्रमणका कारण फेरि शून्यबाट प्रक्रिया सुरु गर्दा लामो समयसम्म मोटरसाइकलको लिलाम हुन नसकेको हो”, उनले भने , “अब चालू आर्थिक वर्षभित्रै मोटरसाइकलको लिलाम हुन्छ भन्नेमा हामी विश्वस्त छौँ । त्यसैअनुसार काम भइरहेको छ ।”