वडा कार्यालयबाट ५३ लाख रुपैयाँ गायब पारिएको घटनामा तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिका -२ का तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा कार्यालयबाट ५३ लाख रुपैयाँ गायब पारिएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो ।

गत चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको ५३ लाख १ हजार ८ सय ५६ रुपैयाँ वडा कार्यालयबाट शंकास्पद रुपमा हराएको थियो । वडासचिव राउत लगायतले रकम हराएको बारेमा प्रहरीमा उजुरी नगरेको र कार्यालयबाट हराएको बताए पनि कुनै तोडफोड नभएको, पैसा राखिएको दराजको चाबी सरिता र रामकुमारसँग रहेको र ढोकाको चाबी निलप्रसादसँग रहेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उनीहरुले वडा कार्यालयमा रकम राखी घर गएको तर, भोलिपल्ट सो रकम कार्यालयको दराजबाट गायब भएको हुँदा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानीनोक्सानी गरेको ठहरसहित आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा ५३ लाख एक हजार आठ सय ५६ रुपैयाँ बिगो कायम गरी उक्त रकम तीनै जनाबाट असुल उपर गराउन तथा कानुन अनुसार थप सजाय माग गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स