मेयर कुट्ने तथा सरकारी गाडी फोड्ने सिके राउतका ७ कार्यकर्ता पक्राउ

काठमाडौं । सर्लाहीका मेयरलाई कुट्ने, राष्ट्रिय सभा चुनाव बिथोल्ने तथा सरकारी गाडीमा फोड्ने सिके राउतका ७ कार्यकर्ता पक्राउ परेका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरमा भएको राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुन आउने प्रदेश सांसद तथा पालिका प्रमुखको गाडी तोडफोड तथा मेयर पिट्न संलग्न भएका ७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम अहिलेसम्म खुलेको छैन।

जनकपुरधामको पिडारी चोकमा जनमतका कार्यकर्ताले लाठी र ढुंगामुढा प्रहार गर्दा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य अशोक यादव सवार गाडी क्षतिग्रस्त बनेको छ । सर्लाही हरिवनका मेयर गणेश प्रसाईं चढेको प्रदेश २–०३–०१ झ ००२० मा तोडफोड भएको छ ।

त्यसैगरि प्रदेश २–०१ झ ००८० र ना १ झ १६७४ नम्बरको गाडीसहित सात वटा गाडीमा उनीहरूले तोडफोड गरेर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

जनमतका कार्यकर्ताले चिकित्सकमाथिसमेत आक्रमण गरेका छन्। बर्दिबास जाँदै गर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि जनमतका कार्यकर्ताले आक्रमण गरेका थिए । उनको मुखमा ८ वटा टाका लागेको छ । पक्राउ परेकामाथि मुद्दा चलाउने तयारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स