कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेको बेला अस्पतालमा एघार दिनदेखि पिसिआर परीक्षण बन्द

राजविराज । विगत एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ । सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पिसिआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका छन् । अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले परीक्षणका लागि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको बताए । एन्टिजेन परीक्षण जारी रहेको उल्लेख गर्दै उनले पिसिआर मेसिनमा स्वाबको स्याम्पल लोड गर्दा मेसिनले राम्रो नतिजा दिन नसकेको बताए ।

उनले भने, ‘प्रदेश नं २ को अरु जिल्लामा प्रदेश सरकारले पिसिआर मेसिन दुई थान दिएको छ तर सप्तरी जिल्लाका लागि एउटा मात्रै पिसिआर मेसिन उपलब्ध गराएकाले त्यो पनि बिग्रेपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको छ ।’मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजीतकुमार झाले पिसिआर मेसिनमा प्राविधिक गडबडी भएका कारण कोरोना भाइरसको स्वाब परीक्षण सञ्चालन हुन नसकेको जानकारी दिए ।

दैनिक २० देखि २५ जना परीक्षणका लागि अस्पतालमा आउने गरेकामा यसरी पिसिआर मेसिन बिग्रिँदा जिल्लामा कोरोनाको सङ्ख्यासमेत बुझ्न समस्या हुने गरेको बताइएको छ । यसअघि यही साउन १२ गते पनि पिसिआर मेसिनमा गडबडी हुँदा दुई दिन परीक्षण कार्य बन्द भएको थियो । प्राविधिक ल्याएर मर्मत गराउँदा सञ्चालन गरिएको भए पनि केही दिन चलेर अहिले फेरि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट केही नदिने भएपछि परीक्षण सेवा बन्द भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स